अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युद्ध थप चर्किने संकेत, इजरायललाई हिजबुल्लाहको धम्की



इजरायल–हमास युद्धका कारण मध्यपूर्व विगत एक वर्षदेखि तनावग्रस्त छ । मंगलबार हिज्बुल्लाह समूहले प्रयोग गर्ने पेजर नै विष्फोट गराएपछि अवस्था थप तनावपूर्ण बनेको छ ।

मध्यपूर्वको लेबननमा सक्रिय सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने ‘हाते पेजर’ विस्फोट हुँदा तीन बालबालिकासहित दर्जन बढीको मृत्यु भएको छ । हाते पेजर नै ह्वाक गरेर विष्फोट गराएको हो । लेवनानभरी एकसाथ विभिन्न स्थानमा ती साना उपकरणहरू पड्किएका थिए ।

बुधबार साँझसम्म झन्डै तीन हजार मानिस घाइते भएका छ्न् । घाइते हुने अधिकांश हिज्बुल्लाह समूहका सदस्यहरु रहेका छन् । घाइतेमध्ये दुई सयको अवस्था गम्भिर छ । छिमेकी मुलुक सिरिया समेत यो विष्फोटबाट प्रभावित भएको छ । दर्जनौँ सिरियाली नागरिक समेत घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एउटा विस्फोटमा बेरुतमा कार्यरत इरानी राजदूत समेत घाइते भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

यो विस्फोटमा आफ्ना आठ लडाकुको मृत्यु भएको हिज्बुल्लाह समूहले जनाएको छ । हिज्बुल्लाह यो घटनाको दोष इजरायललाई दिइरहेको छ । यसको बदला लिने चेतावनी समेत दिईसकका छन् । तर, इजरायलले भने यो घटनाबारे कुनैपनि प्र्रतिक्रिया जनाएको छैन । युरोपियन युनियनले भने नागरिक हताहत भएकोमा निन्दा व्यक्त गरेको छ ।

पेजर ह्याक गरेर विष्फोट गर्नुअघि इजरायलले विस्थापित भएका आफ्ना बासिन्दालाई देशको उत्तरी भागमा सुरक्षित रूपमा फिर्ता गर्न हिज्बुल्लाहको आक्रमण रोक्नु आफ्नो युद्धको लक्ष्य भएको बताएका थिए । गाजाट्टीमा इजरायल र हमासबीच गत वर्षको अक्टोबर ७ देखि युद्ध सुरु भएयता इजरायल–लेबनान सीमामा दिनहुँजसो गोली हानाहान हुँदै आएको छ ।

हिज्बुल्लाहले इरानको समर्थन प्राप्त प्यालेस्टाइनी समूह हमासलाई सहयोग गर्दै आएको छ । हिज्बुल्लाले गाजामा आफ्नो समर्थनलाई जारी राख्ने बताएपछि युद्ध थप चर्किने डर समेत बढेको छ । लेबनानको स्वास्थ्यउ मन्त्रालयले पनि युद्ध थप चर्किने चिन्ता व्यक्त गरेको छ ।