Breaking

गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित


काठमाडौँ – गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९।५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले । दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गएको थियो । तेस्रो बल सोमपालले डट राखेका थिए । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन चाहिँएको थियो ।

पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए ।

ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले १६.१ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । सन्दीपले जतिन्दरलाई एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

२० औं ओभरको दोस्रो बलमा आरिफ शेखले आसिफ शेखबाट कश्यापलाई क्याच गराउँदै नेपाललाई खेलमा फर्किने संकेत दिए । कप्तान अकिब इलियास ३३ बलमा ५ चौकासहित २९ रनमा गुलशन झाको बलमा करण केसीबाट क्याच आउट भएपछि ओमान २४.३ ओभरमा ११३-३ को अवस्थामा थियो ।

गुलशन झाको बलमा आयन खान ९ रनमा क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको ३४ औं ओभरको पहिलो बलमा प्रतिक अथभले २६ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । करणले नगरेपनि विकेटकिपरको अपिलमा उनी आउट भएका थिए । करणको अर्को ओभरमा खराब सट खेल्दै खालिद कैल १७ रनमा सोमपालबाट क्याच आउट भए ।

त्यसपछि ओमानको इनिङ शोएब खानले सम्हाल्लेका थिए । गुलशनको बलमा एज लागेर अर्जुन साउदबाट शोएब २६ रनमा क्याच आउट हुँदा ओमान ४१.३ ओभरमा १८९-७ को अवस्थामा थियो । त्यसपछि बलर हुँदा नेपालको जितको सम्भावना ह्वात्वै बढेको थियो ।

जय ओडेरालाई करण केसीबाट क्याच गराउँदै गुलशनले आफ्नो अन्तर्राष्टिय करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे । गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।