Breaking

भारत रिझाउन ओलीले दशैँमा नयाँ नोट छपाएनन्


काठमाडौँ – एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले केही दिनअघि कालापानी, लिपुलेक भारतको भएको अभिव्यक्ति दिए । जुन अभिव्यक्तिपछि उनी विवादित बने । यता प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मादीसँग अमेरिकामै भेट्नका लागि कुटनीतिक नोट पठाए पनि भेट पाएनन् । यसले मोदी अझै आफूप्रति सन्तुष्ट नरहेको बुझेका ओली भारतसँग धेरै नजुध्ने रणनीतिमा पुगेको देखिन्छ ।

अहिले प्रधानमन्त्रीदेखि नेताहरुसम्मै भारत रिझाउन व्यस्त देखिएका छन् । खासगरी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको स्थान र केपी शर्मा ओलीप्रति सकारात्मक नदेखिँदा नेतृत्व हच्किएको छ । मेटमणि चौधरीले चुच्चे नक्साबारे दिएको अभिव्यक्तिलाई पनि यही घानमा हालेर हेर्न थालिएको छ । यही असोज पाँच गते अमेरिका जान लागेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट हुने तयारी थियो । त्यसका लागि नेपालले कुटनीतिक नोट नै पठाएको थियो । तर, मोदीले ओलीलाई भेट दिनै मानेनन् । कार्यक्रम उद्घाटन गरेलगत्तै मोदी स्वदेश फर्किने र औपचारिक फोरमहरुमा विदेशमन्त्री एस जयशंकर सहभागी हुने निश्चित देखिएको छ । फलतः प्रधानमन्त्री ओलीले संसदबाटै आफू छिमेक चिढाउने मनसायमा नरहेको बताएका छन् ।

राष्ट्र बैंकले हरेक वर्ष दशैं तिहारका लागि नयाँ नोट छाप्ने गरेको छ । गतवर्ष विदेशी मुद्रा सञ्चिती दयनीय अवस्थामा रहँदा पनि नयाँ नोट छापेको राष्ट्र बैंकले यसपटक नयाँ नोट बिक्री गर्ने तर छपाईको प्रक्रियामा नजाने बताएको छ । यसमा पनि भूराजनीतिक स्वार्थ र प्रभाव देखिन्छ । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले १०० को नोटमा चुच्चे नक्सा राख्ने र डिजाइनसमेत परिमार्जन गर्ने निर्णय गरेको थियो । त्यतिबेलै भारतले एकपक्षीय निर्णयभन्दै आपत्ति जनाएको थियो ।

अहिले नयाँ नोट छाप्दा चुच्चे नक्सासहित छाप्नुपर्ने र यसो हुँदा भारत थप चिढिन सक्ने जोखिमलाई ध्यान दिएर यो जोखिम नउठाइएको स्रोत बताउँछ । एकातिर चुच्चे नक्सा समावेश गर्ने निर्णय ओली नेतृत्वकै तत्कालीन नेकपा सरकारले गर्दा मोदी–ओली सम्बन्धमा चिसोपना आएको थियो । अहिले परराष्ट्रमन्त्री आरजुलाई मोदीले महत्व दिनु र अमेरिकामा भेटका लागि कुटनीतिक नोट पठाउँदा पनि ओलीले भेट्न नपाउनु र नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आरजुलाई मात्रै भ्रमणको निम्तो दिएर आफूलाई नदिनुले समेत भारत आफूसँग अहिले सकारात्मक नरहेको बुझेका ओली नोट छापेर थप चिढ्याउन नहुने पक्षमा देखिएका हुन् ।

अर्कोतर्फ एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरी असान्दर्भिक समयमा भारत रुझाउन लागेको रुपमा उनको अभिव्यक्तिलाई लिन थालिएको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पत्रकार ऋषि धमलासँग चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्न भारतसँग प्रशस्त आधार रहेको र सो भूमि भारतकै भएको दाबी गरेका थिए । यसअघि चुच्चे नक्सा संसदबाट पारित गर्दा विरोध जनाए पछि सरिता गिरीले राजनीतिबाटै हात धुनु परेको थियो । मेटमणिले पनि सुरुमा यसलाई सामान्य नै मानेका थिए । उनको यो अभिव्यक्तिमा एमाले नेतृ शान्ता चौधरीले आपत्ति जनाएकी थिइन् ।

जवाफमा मेटमणिले ‘अचारवाली’को संज्ञा दिँदै नक्साको नभई अचारमा नुन खुर्सानीको चिन्ता गर्न शान्ता चौधरीलाई सुझाएका थिए । तर, पार्टीले स्पष्टीकरण सोधेपछि भने मेटमणिले आफ्नो बोली चिप्लिएको स्वीकारेका छन् । उनको पार्टी अध्यक्ष माधव नेपाल भारतका विश्वासपात्र मानिन्छन् । मेटमणि पनि माधवका विश्वासपात्र हुुन् । यता सम्मानित नेता झलनाथ खनालले भने मेटमणि नेपाली नागरिक हुन् वा भारतीय भन्नेसम्म कै प्रश्न उठाएका छन् । किनभने सत्तामा पुगेका हरेकजसो शासकहरुले भारतको भनसुन मान्नु परेको छ । झलनाथले मेटमणिको अभिव्यक्तिको विरोध गर्नु स्वभाविक भए पनि उनी प्रधानमन्त्री बनेका बेला भारतले असहयोग गरेकै कारण भारतको विरोध गर्ने गरेको तथ्य पनि लुकेको छैन । एमालेले भने मेटमणिमाथि राष्ट्रद्रोहकै मुद्दा लगाउनु पर्नेसम्मको माग गरेको थियो ।

कांग्रेस–एमालेको मिलिजुली सरकार अमेरिकी इन्ट्रेस्टमा बनेको नजरमा भारतले हेर्दा ओली स्वभाविक रुपमा भारतकै घेराबन्दीमा परेका छन् । परराष्ट्रमन्त्री आरजुमार्फत सन्तुलित कुटनीति खेल्न खोजे पनि ओलीको व्यक्तिगत झुकाव नै भारतले खोजेको स्पष्ट भइसकेको छ । यस्तो अवस्थामा खाइपाइरहेको सत्ता नगुमोस् र राष्ट्रवादी भएर मात्रै सत्ता चल्दैन भन्ने निष्कर्षमा ओली पुगेका छन् । अर्कोतर्फ छिमेकको इन्ट्रेस्टमा सरकार बन्ने तीतो सत्यका बिच भारतका कम्फर्टेबल पात्र पुष्पकमल दाहाल प्रचण्ड र माधव सत्ता बाहिर रहेको अवस्थामा उनीहरु पनि आफ्नो पोल्टामा भारतीय आर्शीवाद परिहाल्ने आशमा देखिन्छन् ।