Breaking

इन्द्रजात्रामा ओली–बालेन जात्रा, बालेनको फोटो टास्ने समातिए


वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी हरेक वर्ष झै यस वर्ष पनि इन्द्रजात्रा मनाइएको छ । शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाच, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । तर, विशुद्ध ऐतिहासिक तथा धार्मिक पर्वको रुपमा रहेको यो जात्रामा यसपटक भने राजनीतिक गन्ध पनि मिसिन पुगेको छ ।

इन्द्र जात्राको प्रमुख दिन मंगलबार वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीलगायतका विशिष्ट व्यक्तिले अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तात्रे पहिलो दिन राष्ट्र प्रमुख तथा सरकार प्रमुखको उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरू हनुमानढोका क्षेत्र पुगेका हुन् । तर, यसअघि प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूलाई महानगर प्रमुखले स्वागत गर्ने परम्परा रहे पनि यस पटक भने उपप्रमुख सुनीता डङ्गोलसहित वडाध्यक्षहरूले स्वागत गरे ।

कारण, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) जात्रामा अनुपस्थित रहे । उनी बैंगलोरमा आफू पढेको क्याम्पसका पूर्वविद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारत पुगेका छन् । काठमाडौं उपत्यकाबासीको महत्वपूर्ण पर्वमध्येको एक इन्द्रजात्रालाई महानगरका प्रमुख बालेन शाहले पनि प्राथमिकतामा राख्दै आएका थिए ।

त्यसैले उनले विगतका वर्षहरूमा इन्द्रजात्रालाई विश्वव्यापी बनाउने प्रयास स्वरुप विभित्र देशका नगरप्रमुखलाईसमेत निमन्त्रणा गर्ने गरेका थिए । तर, यसवर्ष भने बालेन आफैँ जात्रामा सहभागी नहुनुमा राजनीतिक गन्ध मिसिएको स्पष्ट भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध कै कारण बालेनले इन्द्रजात्रालाई महत्व दिएनन् । साथै उनी अनुपस्थित हुनुको मुख्य कारक नै ओलीसँग चिसिएको सम्बन्ध रहेको राजनीतिक वृत्तमा चर्चा छ ।

निरन्तर ओलीको खण्डनमा उत्रिरहेका बालेनले प्रधानमन्त्रीसँग एउटै मञ्च सेयर गर्न नरुचाएको दाबी छ । तर, आफ्नै नेतृत्वमा रहेको महानगरको प्रमुख दायित्व र भूमिका रहेको कार्यक्रमलाई कुनै व्यक्ति लक्षित गर्दै बहिस्कार गर्नेसम्मको हर्कत मेयर बालेनले प्रस्तुत गर्नुलाई पनि कदापि उचित मान्न नसकिने टिप्पणी भइरहेका छन् । यद्यपि, बालेन उपस्थित नभए पनि उनको फोटो अङ्कित टिसर्टसहित समर्थन गर्न सुरुमा जात्रास्थल पुगेका १३ र पछि थपिएका १ समर्थकलाई त्यहाँबाट धपाएर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘बालेन सिटी’को टिसर्ट लगाएर इन्द्रजात्रास्थल पुगेका समर्थक र स्थानीयबीच विवाद हुँदा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । काठमाडौंका नदी किनारमा थप २० मिटर जमिन छाड्नु पर्ने विवादपछि बालेन र स्थानीयको सम्बन्ध पनि विगतको जस्तो सौहार्दपूण छैन । खासमा गत वर्षको इन्द्रजात्रामा बालेनको जयजयकार भएको थियो भने, गत साउन २० गते ललितपुरको जावालाखेलमा भोटो देखाउने जात्रामा पनि राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि बालेनको पक्षमा नारा लागेको थियो ।

इन्द्रजात्रामा पनि त्यस्तै अवरोध र विरोध हुन सक्ने आशङ्कामा प्रहरीले कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै बालेनको फोटो अंकित टिसर्ट लगाएका युवाहरूलाई रोकेको बताइएको छ । जात्रासँग भावनात्मक सम्बन्ध पनि जोडिएको र कर्म थलो पनि भएको हुँदा पर्वको नाममा हुने गरेका राजनीतिलाई अन्त्य गर्नु पर्ने सामाजिक अभियन्ता तथा इन्द्रजात्रासँग जोडिएका व्यक्तिहरुको भनाइ छ । यस्तै स्थानीय स्वयंसेवकहरुले पनि यस्ता अराजकतालाई न्यूनीकरण गर्न लागिपरेको बताए । जात्रा कुनै व्यक्ति विशेषको नभएर विश्वको सान भएको हुँदा यहाँ कोही कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्नेभन्दा पनि सभ्य तरिकाले मनाउनु पर्ने स्थानीयको भनाइ छ ।

पछिल्लो समयमा राजनीतिक दलका प्रमुख नेताहरूप्रति जनतामा निराशा देखिन थालेको छ भने युवा नेता बालेन जनतामाझ लोकप्रिय बनेका छन् । केही हप्ताअघि मात्रै गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी भएको थियो । जसले उनीहरू जनतामाझ अलोकप्रिय बन्दै गएको यथार्थलाई पुष्टि गर्छ ।

प्रधानमन्त्री ओलीको उपस्थिति रहँदा बालेनको अनुपस्थितिले एमाले र महानगर प्रमुखको टकरावलाई छर्लङ पारेको छ । अझ असोज ३ गते संविधान दिवसको अवसरमा आयोजना हुन लागेको नेसनल डे कन्सर्टमा प्रधानमन्त्री ओलीमाथि सुरक्षाको थ्रेट रहेको सुरक्षा निकायले सुझाव दिएपछि उनको सहभागिता अनिश्चित देखिएको छ । तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने दरबारमार्गमा हुने कार्यक्रममा कुनै हेरफेर नभएको र सहभागी हुने जानकारी दिएको छ । तर, यस्ता जात्रा, पर्व तथा कार्यक्रमहरुमा राजनीतिक गन्ध देखिनु र एकले अर्कालाई बहिस्कार गर्नेसम्मको गतिविधि देखिनु विडम्बना हो ।