अन्तर्राष्ट्रिय

एलन मस्क विवादमा, ट्रम्पको पक्षमा लाग्दा फसे


अमेरिकी खर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति र उपराष्ट्रपतिबारे गरेको ट्वीट मेटाएको खुलासा भएको छ । अमेरिकी गुप्तचर सेवाले उक्त ट्विटबारे आफूलाई जानकारी रहेको बताएको छ । मस्कले आफ्नो एउटा ट्वीटमा राष्ट्रपति जो बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए ।

विश्व शक्ति राष्ट्र अमेरिकामा राष्ट्रपति निर्वाचनको माहोल यतिबेला गजबले तातेको छ । ५ नोभेम्बरमा हुने विशाल निर्वाचनमा हरेक क्षेत्रका व्यक्तिहरुले निर्वाचनबारे आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् । यस्तैमा विश्वका धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्क खुलेर डोनाल्ड ट्रम्पको समर्थनमा देखिएका छन् । जब अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रोपटक हत्या प्रयासको खबरहरू सार्वजनिक भए उनले आफ्नो भनाइहरू एक्समार्फत सार्वजनिक गरिरहेका छन् ।

साथै रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार ट्रम्पमाथि थप आक्रमण हुन सक्ने समाचारहरू सार्वजनिक भएसँगै मस्कले एउटा व्यंग्यात्मक ट्वीट गरे । जुन केही समयमा उनले डिलिट त गरे तर गुप्तचरको नजरमा मस्क परेका छन् । अक्सर व्यंग्यात्मक ट्वीट गर्ने मस्कले लेखेका थिए, ‘कसैले बाइडेन÷कमलालाई मार्ने प्रयाससमेत गरिरहेको छैन ।’ उनले एक व्यक्तिले ‘डोनाल्ड ट्रम्पलाई किन मार्न चाहन्छन् ?’ भन्ने प्रश्नको जवाफमा उक्त पोस्ट गरेका थिए । जुन पोस्ट पछि मेटाएका थिए । पोस्ट मेटाए पनि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्न आह्वानको रूपमा यो पोस्टको व्याख्या हुन सक्ने आंकलन अमेरिकी सुरक्षा सम्बद्ध निकायले गरेका छन् । मस्कले यो मजाक मात्र भएको र सन्दर्भ मिलेकाले त्यसले राम्रो प्रतिक्रिया नपाएको बताएका थिए ।

उनले लेखेका छन्,‘मैले एउटा पाठ सिकेकी कुनै समूहलाई इंगित गरेर उनीहरूले हाँस्ने कुरा पोस्ट गर्दा सधैं हास्यास्पद नहुने रहेछ’ उनी थप्छन्, ‘जोक धेरै कम हाँस्यास्पद हुन्छन्, जब मानिसहरूलाई सन्दर्भ थाहा हुँदैन र टेक्स्टमा मात्रै केन्द्रित हुन्छन् ।’ यो घटनाले मस्कको बढ्दो राजनीतिक पोस्टहरूको शृङ्खलालाई थप जटिल बनाएको बताइन्छ । अमेरिकी सरकारसँगको ठूला रक्षा सम्झौताका कारण अत्यन्त संवेदनशील जानकारीहरूमा पहुँच राख्न सक्ने व्यक्तिका रुपमा मस्कलाई लिइन्छ । यद्यपि, उनले हालका राष्ट्रपतिविरुद्ध सम्भावित धम्कीहरू जारी गरिरहेको बुझाइ सुरक्षा वृत्तमा रहेको सञ्चारसंस्था वायरले उल्लेख गरेको छ । साथै, मस्कको पछिल्ला वक्तव्यहरूले थप राजनीतिक हिंसालाई उत्प्रेरित गर्ने जोखिम रहेको त्यहाँको गुप्तचर निकायको बुझाइ छ ।

आइतबार रातिको पोस्ट मेटाइए पनि मस्कलाई संघीय कानुनी निकायबाट ध्यानाकर्षण हुन सक्ने छ । संयुक्त राज्य अमेरिका गुप्त सेवा ( ग्क्क्क्) ले मस्कको पोस्टबारे प्रतिक्रिया दिन अस्वीकार गरेको सञ्चार संस्था वायरले बताएको छ । यद्यपि, प्रवक्ता नाट हेरिङले भनेका छन्, ‘हामी यति भन्न सक्छौं कि गुप्त सेवा हाम्रो संरक्षणमा रहेका व्यक्तिहरूसँग सम्बन्धित सबै खालका धम्कीहरूको अनुसन्धान गर्न स्वतन्त्र छ ।’ पूर्वएफबीआई गुप्तचर माइकल जर्मनले गुप्त सेवाले यस्तो टिप्पणीलाई अत्यन्त गम्भीरतापूर्वक लिने गरेको बताउँछन् ।

उनी भन्छन्,‘सामान्यतः एजेन्टहरूले व्यक्तिलाई भेट्दा कुनै वास्तविक खतरा छैन भनेर सुनिश्चित गरिन्छ । यदि कुनै व्यक्तिले गम्भीर बयान दिन्छन् भने यसलाई संस्थाले गम्भीर रूपमा लिन्छ ।’ यो कुराको जानकारी कम्तिमा मस्क जतिको मान्छेलाई हुनु पर्ने उनको बझाइ छ । एलोन मस्कलाई डोनाल्ड ट्रम्पको समर्थक मानिन्छ र ट्रम्पले दोस्रोपटक जितेमा सरकारी दक्षता आयोगको जिम्मेवारी मस्कलाई सुम्पिने आश्वासन दिएका छन् । मस्कको पोस्टविरुद्ध धेरै जना एक्स प्रयोगकर्ताले आलोचना पनि गरेका थिए । ह्वाइट हाउसले उनको पोस्टबारे गैरजिम्मेवारपूर्ण भनेको छ ।