अन्तर्राष्ट्रिय

ट्रम्पमाथि पटक–पटक गोली प्रहार, हार नमान्ने उद्घोष, बन्दुक ताक्नेलाई जाजुुसले यसरी भेटे


काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ६४ दिनपछि फेरि घातक हमला प्रयास भएको छ । ट्रम्पलाई फ्लोरिडा गल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको हो । हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए । अमेरिकी अधिकारीहरूका अनुसार पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास गरिए पनि उनी सुरक्षित रहेको र एक सम्भावित संदिग्धलाई पक्राउ गरि हिरासतमा राखिएको उल्लेख गरिएको छ । घटनास्थलमा एउटा एके–४७ राइफल र स्कोप, दुईवटा ब्याकप्याक तथा एक गोप्रो क्यामेरा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । घटनापछि राष्ट्रपति उम्मेदवार ट्रम्पले भने आफूले हार नमान्ने बताएका छन् ।

उनले आफ्ना समर्थकलाई इमेल लेख्दै भनेका छन्, ‘म सुरक्षित छु । ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ । तर, म यस्ता घटनाले आत्मसमर्पण गर्दिनँ ।’ यस अगाडि पेन्सिलभेनियाको बटलरमा एक ¥यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । ट्रम्प बटलरमा मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो। त्यसबेला भने ट्रम्पको दाहिने कानको माथिल्लो भागमा गोली लागेको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पमाथि आक्रमणको प्रयास गर्ने सन्दिग्ध व्यक्ति ५८ वर्षका ¥यान वेस्ले रुथ हुन् । रुससँगको युक्रेनी युद्धमा विदेशी लडाकुलाई भर्ती गराउन उनले प्रयास गरेका थिए । उनी किभ पनि गइसकेका छन् । आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेसनल गल्फ कोर्समा ट्रम्पले गल्फ खेलिरहेको समयमा उनलाई मार्ने प्रयास भएको थियो । झाडीबाट गल्फ कोर्सतिर एके–४७ शैलीको बन्दुक तेस्र्याइरहेको देखेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले गोली हानेका थिए । त्यसपछि सन्दिग्ध कारमा भागेका थिए । तर ३८ माइल पर उनी समातिए । यस घटनामा ट्रम्पलाई कुनै चोटपटक लागेन । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि चुनावी मैदानममा ट्रम्प छन् । यसअघि जुलाई १३ मा मृत्युलाई नजिकबाट नियालेका ट्रम्पले पुनः एकपटक हत्या प्रयासबाट ज्यान बचाएका छन् ।

चुनावको झनै नजिक रहेका ट्रम्पलाई यस घटनाले फेरि एक पटक चर्चामा ल्याएको छ ।
ट्रम्पमाथि आक्रमणको प्रयास भएको घटनाप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति एवं राष्ट्रपति चुनावकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले निन्दा तथा भत्र्सना गरेका छन् । अमेरिकी सुरक्षा निकाय एफबीआईले यस घटनालाई स्पष्ट रुपमा हत्याको प्रयास भनेको छ । प्रहरीले प्रक्राउ परेका बन्दुकधारी संदिग्ध व्यक्तिको पृष्ठभूमिको विषयमा गहन छानबिन गरिरहेको जनाएको छ । संदिग्ध व्यक्तिले ट्रम्पको किन हत्या गर्न चाहन्थे ? यसमा अरु क कसको हात रहेको छ ? भन्ने लगायतका विषयमा अहिले नै स्पष्ट नभएको र छानबिनकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् । यससम्बन्धमा भइरहेको छानबिनबाट थप तथ्य आएपछि मात्रै बाँकी विषयमा बोल्न सकिने अवस्था रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।