Breaking

बालेन र कुलमानसँग किन भिड्छन् ओली ?


प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको एकअर्कासँग वाक्युद्ध चलिनै रहन्छ । ओली बालेनसँग मात्रै नभएर आफूतिर प्रश्न तेर्साउने हरकोहीसँग भिड्ने मात्रै होइन नेता कार्यकर्तालाई जाई लाग्नसमेत निर्देशन दिने गर्छन् । आखिर ओली किन सबैसँग भिड्न नेताहरूलाई उक्साइरहेका छन् ?

प्रधानमन्त्री केपी शर्मा ओली उमेरले सात दशक नागिसके । सामान्यतः यस उमेरमा शरीरमा जागर नआउने र बोलीमा पनि खासै त्यस्तो वजन भेटिँदैन । तर, ओलीको सक्रियता र उनले दिने अभिव्यक्ति भने नवजवान युवाकोभन्दा फरक हुँदैन । ७२ वर्षका प्रधानमन्त्री ओलीले सायदै कोही कसैसँग भिड्न छुटाएका होलान् । हर कोहीसँग उनको वाक्युद्धको मुठभेड चलिरहेको हुन्छ । र, त्यो अहिले पनि जारी छ । खास गरि अहिले ओलीको आखाँको तारो बनेका छन्, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ।

बालेनसँग भिड्न सामान्य कार्यकर्तादेखि उनी आफैँ पनि लागिपरेका छन् । बालेनविरुद्ध भिड्न पटक पटक उनी हौसिन्छन् । महानगरपालिकाकै वडाध्यक्ष, उपप्रमुख हुँदै काठमाडौं जिल्लाका पार्टी अध्यक्ष र विद्यार्थी भ्रातृसङ्गठनका अध्यक्षलाई समेत बालेनका विरुद्ध उक्साइरहने गरेका छन् । सबैलाई भिडाउन लागिपरेका ओली अझै सन्तुष्ट छैनन् । बालेनविरुद्ध बोले अलोकप्रिय भइन्छ भत्रे डरले गलत कुरालाई स्थापित हुन दिन नहुने भन्दै नेकपा एमालेका नेता, कार्यकर्तालाई बारम्बार प्रतिवादमा उत्रन आह्वान गर्दै आइरहेका छन् ।

ओलीको भिडन्त बालेनसँग मात्रै पनि सीमित छैन । अहिलेको सत्ता सहयात्री कांग्रेसका सांसदसँग सदनमा हात हालाहालकै अवस्थामा पनि ओली पुगेका थिए । त्यस्तै दुईपटक सत्तामा जाँदा काखी च्यापेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि ओलीले जोरी खोज्न छोडेका छैनन् । रास्वपाका सांसद सुमना श्रेष्ठको बैवाहिक जीवनको व्यक्तिगत सम्बन्धबारे नै असन्तुष्टि पोखेका ओलीले शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्तिमा पनि पैठेजोरी खोजेका थिए ।

र त्यो पैठेजोरी अहिलेसम्म पनि निरन्तर चलिनै रहेको छ । अहिले पनि बेलाबखतमा ओली र सुमनाको भिडन्त भइनै रहन्छ । ओलीले माओवादीलाई चिढ्याउन कुलमान घिसिङसँग जोरी खोज्दा अहिले ‘हिंसा’ शब्दलाई लिएर सदनमा भिडन्तकै अवस्था बनिरहेको छ ।

त्यस्तै ओलीले दुर्गा प्रसाईसँग भिड्न त महेश बस्नेतलाई नै जिम्मा दिएका थिए । तर, सधैँ चर्चामा रहने बस्नेत ओलीले उचालेकै भरमा प्रसाईसँग भिड्दा अहिले एमाले र राष्ट्रिय राजनीतिबाटै किनारामा पुगेका छन् । आफ्ना विरोधीसँग भिड्न नेता कार्यकर्तालाई तिखारेका ओली आफ्नै पनि समय खर्च गरिरहेका छन् । ओलीको हर्कतबाट सत्ता गठबन्धनकै नेताहरू पनि वाक्क हुन थालेका छन् ।

नेपाली कांग्रेसका निर्वाचित सांसद शङ्कर भण्डारीले आइतबार विज्ञप्ति नै निकालेर ओलीका यस्ता प्रवृत्तिको खण्डन नै गरे । प्रधानमन्त्रीको पदमा आसिन देशको एक जिम्मेवार व्यक्तिले राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्नु पर्ने उनको सुझाव छ । देशको नेतृत्व गर्नेले नै यस्ता सानातिना कुरामा अल्झिनु दुर्भाग्य भएको जानकारको पनि बुझाइ छ ।

बालनेसँग भिड्न सिङ्गो विद्यार्थी सङ्गठन लाग्दा फेसबुकको पोष्ट नै डिलिट गराएका ओली आफ्ना विरोधीको आवाज सुत्रै चाहँदैनन् । जसका कारण आफू र पार्टी उपर उठ्ने हरेक प्रश्नको जवाफ दिनेभन्दा त्यसको प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिइरहेका छन् ।

प्रधानमन्त्री ओलीले यसरी हरेक प्रश्नमा ओठे जवाफ फर्काउनुभन्दा कमसेकम सामान्य शान्ति सुरक्षालाई मात्रै पनि ख्याल गरेर आफ्नो जिम्मेवारी बोध गरे देश र उनकै लागि पनि फाइदा हुने टिप्पणी भइरहेको छ । राज्यको शान्ति सुव्यवस्था कायम गर्नु पर्ने जिम्मेवारी बोकेकाले नै भड्किलो अभिव्यक्ति दिँदै हिँड्दा देशमा अमनचैन कसरी कायम रहला ? प्रश्न उठाउनेहरु बढ्दै गएका छन् । प्रधानमन्त्रीले विवादमाभन्दा पनि जनजीविका र देश विकासको सवालमा बढी ध्यान दिन जरुरी देखिन्छ ।