Breaking

गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि


काठमाडौँ— सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएको बताएका छन् । दाहालले गोर्खा मिडिया प्रालिमा आएको उक्त रकम खर्च गर्ने क्रममा संलग्न देखिएको उल्लेख गरे ।

दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा मिडियामा आएपछि त्यसलाई खर्च गर्न भने उनी संलग्न देखिएकाले बताए । सोहीअनुसार कारबाही गर्न सिफारिस गरिएको उनले जानकारी दिए ।

समितिको प्रतिवेदन बुझाउनेमा रास्वपाका तर्फबाट सदस्य रहेका शिशिर खनालको पनि त्यसमा सहमति रहेको उनको भनाइ छ । “हामीले अहिलेसम्म प्राप्त गरेका प्रमाणहरू, पीडितहरूको बयान र अनुसन्धानका क्रममा जेजे र जसजसका जति कमजोरी भए, कमजोरीका आधारमा कानुनी कारबाही गर्न सिफारिस गर्ने भन्ने सन्दर्भमा हाम्रो सर्वसम्मति छ,” दाहालले भने, “लामिछानेजीको सहकारीबाट गोर्खा मिडिया प्रालिमा पैसा ल्याउने कुरामा संलग्नता देखिएको छैन । तर, गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा उहाँको संलग्नता देखिएको छ ।”

समितिका सदस्यहरूले आज बिहान ३ बजेसम्म बसेर प्रतिवेदन तयार पारेका हुन् ।

समितिले लामिछानेले गरेको गैरकानुनी सेयर किनबेचसहितका कामबाट सहकारीको बचत अपचलन भएको पनि समितिको निष्कर्ष छ । “गैरकानुनी ढंगले नै कम्पनीमा सेयर किन्ने, सेयर बेच्ने र अरू गतिविधिमा पनि उहाँको संलग्नता देखिएकाले कानुनी कारबाहीका निम्ति सिफारिस गर्ने भन्ने विषयमा हामी सहमत छौँ,” दाहालले भने ।