Breaking

परराष्ट्रमन्त्री राणा आज १९ दिने विदेश भ्रमणमा जाँदै


काठमाडौँ— परराष्ट्रमन्त्री आरजु राणा १९ दिन लामो विदेश भ्रमणमा आज साँझ जाँदै छिन् । उनले उक्त अवधिमा क्यानडा, अमेरिका र कतारको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सबैभन्दा पहिले उनले क्यानडाको भ्रमण गर्ने कार्यक्रम छ । उनी क्यानडाको टोरन्टोमा असोज ३ देखि ४ गतेसम्म हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा सहभागी हुन त्यसतर्फ सोमबार साँझ जान लागेकी हुन् ।

बैठक क्यानडा र जमैका सरकारको सह–आयोजनामा हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले टोरन्टोमा महिला विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणा असोज ५ गते अमेरिको न्युयोर्क जाने कार्यक्रम छ । उनी क्यानडाबाट अमेरिका जानेछिन् । न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री राणा सामेल हुनेछिन् ।

परराष्ट्रमन्त्री राणा राष्ट्रसंघको महासभामा सहभागी भएपछि न्युयोर्कबाट कतार आउने कार्यक्रम छ । असोज १६ देखि १७ गतेसम्म कतारको दोहामा आयोजना हुने एसिया कोअप्रेसन डायलगको तेस्रो शिखर सम्मेलनमा उनी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री राणा असोज १८ गते नेपाल फर्किने कार्यक्रम छ ।