राजनीति

कोशीको संकट, केदार कार्कीको ओलीसँगै टक्कर, शेखरले दिएनन् मन्त्री, एमालेलाई अफ्ठ्यारो


काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेको बीउले अहिले उनैलाई समस्यामा पारेको छ । ओलीले कांग्रेस नेता शेखर कोइरालासँग मिलेर कांग्रेसभित्र विद्रोह गराएर मुख्यमन्त्रीसम्म बनाएका केदार कार्की नै अहिले ओलीका लागि बाधक बनेका हुन् ।
सङ्घीयतापछि बनेका सात प्रदेशमध्ये सबैभन्दा बढी कोशीको सरकार चर्चामा आउने गरेको छ । चाहे पहिचानवादीको मुद्दा उठ्दा होस् या अस्थिर सरकार वा केन्द्रको विरुद्धमा नै गएर किन नहोस् । चर्चाको सवालमा कोशीले सबै प्रदेशलाई मात खुवाएको छ । त्यही कोशीलाई सधैँ चर्चाको शिखरमा राख्नेहरुको अग्रणी पंक्तिमा आउने नाम केदार कार्की बनेका छन् । त्यसो त करिब एक वर्ष अघिसम्म केदार कार्कीको नाम आफन्त, पार्टी र आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सीमित थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र विद्रोह गराएसँगै कार्कीको नामले राष्ट्रिय राजनीतिमा पनि उचाई पाउन थालेको हो ।

अहिले त्यही नाम ओलीलाई टाउको दुखाई बनेको छ । कोशीमा कांग्रेस र माओवादी मिलेर बनाएको सरकारलाई फालेर केन्द्रको असहमतिबिना नै ओलीकै सहयोगमा प्रदेश सरकारको नेतृत्वमा पुगेका पूर्वमुख्यमन्त्री कार्की अहिले ओलीलाई नै ब्याक फायर गरिरहेका छन् । केदार अहिले कांग्रेसकै समर्थनमा बनेको एमाले सरकारको विरोधमा उत्रिरहेका छन्् । शेखर कोइराला समूहका उनले बल्लतल्ल शुक्रबार पूर्णता पाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रदेश सरकारलाई बहिष्कार गर्दै बाहिरिएका छन् । नौ मन्त्रालयमध्ये कांग्रेसको भागमा परेको चार मन्त्रालयमध्ये दुईमा दाबी गरेका कार्कीले अन्ततः दुई महिना कुराएर मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्री मण्डलबाट हात झिकेका हुन् । कार्कीको असन्तुष्टि आमरण अनशन हुँदै बहिष्कारसम्म पुगेको हो ।

केन्द्रमा सभापतिलाई सवक सिकाउनकै लागि विद्रोहको प्रतिकको रुपमा कांग्रेस र एमालेको समीकरण बन्नु पर्छ भनेका कार्की अहिले राजनीतिक रुपमा सफल भएका छन् । परिणामतः केन्द्रसहित सातै प्रदेशमा कांग्रेस र एमालेको सरकार गठन भएको छ । तर, आफ्ना एजेण्डा स्थापित भए पनि कोशीमा न उनी मुख्यमन्त्री बनिरहन सके न त उनले भनेको जस्तै गतिलो मन्त्रालय भागमा पार्न सके । साथै आफ्नो पालामा गरेका केही निर्णय पनि कोटौतीमा पर्दा उनी भने सडकमा पुग्न बाध्य बनेका छन् । जसले गर्दा कोशी प्रदेश सरकारलाई बहिष्कार गरेर हिक्मत कार्कीमाथि प्रहार गरेका कार्की ओलीमाथि खनिएका छन् ।

कार्कीको राजनीतिक धरातल कांग्रेससँग जोडिए पनि उनलाई राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गराउने पात्र ओली नै हुन् । पार्टी र आफ्नै निर्वाचन क्षेत्रमा सीमित कार्कीको नाम ओलीकै कारण राष्ट्रिय राजनीतिमा समेटिएको हो । तर, प्रदेशबाट सिधैँ केन्द्रसम्मको राजनीतिक यात्रा तय गराएका कार्कीबाटै ओलीमाथि ब्याकफायर भएको छ । हिजो आफैँले रोपेको विद्रोहको बीउ ओलीका लागि अहिले सङ्कटको रुपमा देखापरेको छ । हिक्मत कार्कीको सरकारलाई बहिष्कार गरेका केदार कार्की समूहले भोलिका दिनमा पनि प्रदेश सरकारलाई असहयोग गर्ने निश्चित छ । जसको असर वा प्रभाव केन्द्रसम्मै देखिन सक्छ । कार्कीले ओलीमाथि ठाडो चुनौती दिने देखिँदा कांग्रेसमा आफैँले विद्रोहको ज्वाला निकालेका ओलीलाई नै भष्म पार्न सक्ने सङ्केत देखापरेको छ ।