समाचार

इन्द्रजात्रा सुरु, वसन्तपुरमा लिङ्गो ठड्याइयो, ८ दिनको उत्सव, विदेशीकोसमेत आकर्षण


काठमाडौँ— काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व आज सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको हो । यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ ।


काठमाडौँको रौनककोरुपमा रहेको इन्द्र जात्रा पर्व आइतबारदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरेसंगै विधिवतरुपमा पूजाआजा गरेर लिंगो अर्थात ‘इन्द्रध्व ठड्याइएपछि इन्द्रजात्रा पर्व सुरु हुन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्व पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजयोत्सव मनाउने पर्वका रुपमा इन्द्रजात्रालाई लिइन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमासमेत इन्द्रजात्रालाई लिइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेकी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको बाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधि रहिआएको छ ।

यो जात्रासँग सम्बन्धित किम्बदन्ती पनि छ । आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बिच सडकमै जात्रा गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाउने चलन चलिआएको विश्वास छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । त्यही कुहिरोले वर्षा गराउँदा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ परिक्रमा गराइन्छ । इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भएर पुनः वसन्तपुर नै पु¥याएपछि इन्द्रजात्रा सकिन्छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली त्यसलाई तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुनेछ ।