Breaking

योगेशको हिंसामा माओवादी–एमालेको भिडन्त, प्रचण्डको चेतावनी


काठमाडौँ – संसदीय व्यवस्थामा नीतिगत सवालमा सत्तापक्ष र प्रतिपक्षको भिडन्त स्वभाविक मान्न सकिन्छ । तर सदनको पछिल्लो पाँच महिने गतिविधि नियाल्दा सदन सत्तापक्ष भर्सेस प्रतिपक्ष नभई प्रतिपक्ष र सभामुख बढी भिडेका छन् ।

नीति निर्माण गर्ने थलो सदन केवल दलहरुको राजनीतिक दाउपेचको थलो बन्दा बन्धक बन्ने गरेको छ । सत्तापक्ष र प्रतिपक्षको भिडन्तमा सभामुख स्वयम् सिकार हुने गरेका छन् । सभामुख प्रतिपक्षको आँखाको तारो बनेका छन् ।

त्यसमा पनि पछिल्लो समय ‘हिंसा’ शब्दले सदनमा हंगामा भइरहेको छ । गत भदौ १२ गते नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले माओवादी सशस्त्र युद्धलाई ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाए । ‘हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विषयमा विवाद हुँदा सदन नै रोकिन पुग्यो । यो विषयमा अझै सांसदहरुबीचको दोहोरी रोकिएको छैन । बुधबार सभामुख देवराज घिमिरेले सांसद भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने रुलिङ गरेपछि यो विषयले थप उग्ररुप लिएको छ ।

भदौ १२ गते एमाले सांसद भट्टराईले बोलेको हिंसा शब्दबारे केही दिन शान्त बनेको संसदमा त्यसको १४ दिनपछि एकाएक सभामुखले नै उक्त विषय उठाएर सत्ता र प्रतिपक्षका सांसदलाई भिडाउने काम गरे । सभामुखले सुझबुझपूर्ण भूमिका खेल्नु पर्नेमा सत्तारुढ दल एमालेकै कित्तामा उभिएर रुलिङ गरेपछि माओवादी सांसदहरु सभामुखमाथि नै खनिन पुगेका छन् ।

एमाले र माओवादी सांसदबीच भिडन्तको अवस्था बन्दा सदनको अर्को बैठक भदौ ३० गते आइतबारसम्मका लागि स्थगित भएको छ । यता माओवादी केन्द्रले एमाले सांसद भट्टराईले जनयुद्धलाई अपमान गरेको निष्कर्ष निकाल्दै संसदको अवरोध कायम राख्ने निर्णय नै गरेको छ । यसमा संशोधन नआउँदासम्म पछि नहट्ने माओवादीको अडान छ ।

सभामुख घिमिरे सदनको भूमिकालाई लिएर लपेटिएको यो नै पहिलो घटना होइन । यसअघि एमाले माओवादी नेतृत्वको गठबन्धन सरकार हुँदा प्रतिपक्ष नेपाली कांग्रेसले सभामुखलाई महाअभियोग नै लगाउने तयारी गरेको दृष्टान्त छ । सहकारी ठगी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिएपछि कांग्रेसले सभामुखलाई महाअभियोग नै लगाउने तयारी गरेको थियो । रविका कारण कांग्रेस पटक पटक सभामुखसँग भिड्न भ्याएको थियो ।

संसदीय व्यवस्थामा सदनमा एकजना मात्र सांसद उभिए पनि सभामुखले बैठक अगाडि बढाउन मिल्दैन । तर सभामुख घिमिरेले सदनमा सांसदहरुको चर्काचर्की, बेल घेराउदेखि कुटाकुटमै उत्रिँदासमेत बैठकको कार्यसूची अगाडि बढाउने गरेका छन् । सदनमा बोल्न नदिएर जबर्जस्ती प्रतिपक्षको आवाज दबाउने र पेलेरै सदन चलाउन खोजेको भन्दै पटक पटक प्रतिपक्षको प्रहारमा उनी पर्दै आएका छन् ।

निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नु पर्ने सभामुख जस्तो गरिमामय पदमा बसेका व्यक्ति दलको कार्यकर्ताको हैसियतमा प्रस्तुत भएको भन्दै आलोचना भइरहेको छ । जसका कारण उनको भूमिकामाथि नै प्रश्न उठ्दै आएको छ । सदनमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की चल्दा प्रतिपक्ष दलका सांसद र सभामुखबीच पनि तिखो शब्दसहित वाकयुद्ध चल्ने गरेको थुप्रै उदाहरण छन् । यसले संसदीय व्यवस्था र मर्यादामाथि नै प्रश्न उठाएको विश्लेषण छ ।

त्यसो त पदीय मर्यादाको दुरुपयोग गर्दै दल विशेषको कार्यकर्ताको हैसियतमा काम गरेको भन्दै अघिल्लो संसदका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटामाथि पनि आरोप लागेको थियो । नेकपा विभाजनपछि एमालेबाट माधव नेपाल अलग्गिएर एकीकृत समाजवादी पार्टी बन्दै गर्दा तत्कालीन सभामुख सापकोटामाथि दल विशेषको कार्यकर्ताका हैसियतमा प्रस्तुत भएको एमालेले आरोप लगाउँदै तीव्र असन्तुष्टि जनाएको थियो । पछिल्लो समय पनि सत्ता र प्रतिपक्षले सदनलाई राजनीतिक दाउपेचको थलो बनाउँदै आएका छन् ।

समन्वयकारी भूमिका खेलेर सदनलाई प्रभावकारी बनाउन सभामुख असफल जस्तै देखिएका छन् । निष्पक्ष र स्वतन्त्र रहँदै सदनलाई सन्तुलित र सहज ढंगले सञ्चालन गर्न सभामुखले आफूलाई सुधार गर्न झनै जरुरी देखिन्छ ।।