राजनीति

प्रमाणले घेरिए धनराज, २ महिनाअघि लाखौँ किस्ता तिर


कांगे्रस उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिएपछि ठगीभन्दा बढी सम्बन्धविच्छेदको विषय चर्चामा छ । पाँच वर्ष पहिले नै श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेकाले उनको कारोबारको जिम्मा नलिने भन्दै पन्छिन खोजिरहेका बेला गुरुङविरुद्धकै प्रमाणहरु बलियो बन्दै गएका छन् ।

सहकारी काण्डमा कांग्रेस उपसभापति धनराज गुरुङले गोहीको आँश झारिरहँदा उनीविरुद्धका प्रमाण भने बलियो बन्दै गएका छन् । कुनै समय रवि लामिछानेमा केन्द्रित संसदीय छानबिन समिति पनि धनराजको ठगी आरोपलाई पक्रिँदै सहकारीमै छापा हान्नेसम्मका गतिविधिमा सक्रिय छ ।

बिहीबारमात्रै धनराज जोडिएको मितेरी सहकारीमा समितिले अनुगमन गरेको हो । सहकारीको प्रबन्धक रहेका समय ज्योति गुरुङले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको आरोप लागेको छ । तर गुरुङ भने पाँच वर्ष अघि नै श्रीमतीसँग पारपाचुके गरेकाले ठगीको भागेदार आफू नहुने जिकिर गरेका छन् ।

डिभोर्स गरिसकेपछि नक्कली र सक्कलीको बहस नहुने दाबी धनराजले गरिरहेका बेला बिहीबार भएको अनुगमनका क्रममा छानविन समितिकै पदाधिकारीहरुले धनराज दम्पतीको वास्तविक सम्बन्धविच्छेद नभइ ‘सहकारी डिभोर्स’ मात्र भएको भनेका छन् ।

धनराजको इन्कारी जवाफका बाबजुत उनले सहकारीको ८१ लाख रुपैयाँ तिरेको कागज नै सार्वजनिक भएको छ । पछिल्लो पटक जेठ ६ गते मात्रै पनि धनराजले आठ लाख रुपैयाँ किस्ता तिरेका छन् । यसले २०७६ सालमै डिभोर्स भएकी श्रीमतीको ऋण धनराजले २०८१ जेठमा किन तिरे ? गम्भीर प्रश्न उठेको छ । संगोलमा बस्दा श्रीमतीले लिएको ऋण पनि श्रीमानले तिर्नुपर्छ । तर, कागजी डिभोर्स गरे श्रीमतीले गरेको ठगीको भागेदार श्रीमान हुनु पर्दैन ।

यही कानुनी व्यवस्थालाई सदुपयोग गर्न धनराजले नाटकीय ढंगबाट नक्कली डिभोर्स गरेको पुष्टि हुँदैछ । यतिमात्र नभई सहकारी पीडितहरुले नै ज्योतिले आफूहरुबाट अति आवश्यक भएको भन्दै पैसा लिने गरेको, नेताकी श्रीमती र एक सहकारीको प्रबन्धकसमेत भएकाले फिर्ता गर्ने आग्रह गर्थिन् । खानदानी परिवारकै भएकाले पनि विश्वासले स्थानीयले रकम दिन्थे ।

रकम लिएपछि पैसा नभएको चेक ज्योतिले दिन्थिन् र अन्ततः त्यही पैसा लिएर सम्पर्कविहीन हुुने गरेको दुखेसो गरेका छन् । अन्ततः आफूहरु ठगिएको थाहा पाएपछि नेता भएकाले सहयोग माग्न स्थानीयहरु धनराज कहाँ पुग्छन् तर, घरमा पीडित पुग्दा धनराजले पनि हप्काउने गरेको आरोप पीडितहरुले लगाएका छन् । धनराजले जतिसुकै आँशु झारेपनि यी यावत संयोगले दालमा केही कालो भएको संकेत गरिरहेको छ ।

स्वतन्त्र पुष्टि नभए पनि ज्योतिले यता उठाएको रकम विदेशमा लगानी गर्ने गरेको आशंका गरिएको छ । सो रकम अनलाइन ग्याम्ब्लिङ र क्रिप्टोमार्फत पैंसा विदेश गएको आशंका गरिएको छ । तर, यसबारे प्रहरी अनुसन्धान जारी छ । यदि यसो देखिए नेपाली सम्पत्ति विदेशमा लैजानु प्रथम दृष्टिमै अपराध हो ।

यता उक्त सहकारीका अध्यक्ष कुम्भज गुरुङको भूमिका पनि शंकास्पद दखिएको छ । ज्योति र धनराज मिलेर आफूलाई फसाउन खोजिएको कम्भराजको वयानका बीच धनराजले नै आफ्नै श्रीमतीलाई उनै कुम्भराजले विदेश घुमाउने गरेकोसम्मका आरोप लगाएका छन् । तर कुम्भराज भने यो आरोप अस्वीकार गर्दै आएका छन् । यहाँ कुम्भराज अध्यक्ष भएकाले उनको स्वीकृतबिना यति ठूलो रकम हिनामिना हुन सक्दैन । यहाँ एकअर्कालाई देखाएर मुद्दा नै डाइभर्ट गर्ने खेलमा पनि उत्तिकै शंका गर्ने ठाउँ देखिन्छ ।

योसँगै नेता धनराज देखाएर ज्योतिले सहकारीमा दादागिरी देखाएको र त्यसको मतियार धनराज पनि हुँदै आएका तथ्य बलियो बन्दै गएका छन् । अब एकतिर सीआईबी र अर्कोतिर छानविन समितिको अंकुशमा उनी परिसकेका छन् । रवि लामिछानेमाथि छानविन गराउन संसद अवरोध गरेका बेला केपी ओलीमाथि आक्रमण गर्न पुगेको नतिजा आफ्नै सरकारबाट धनराजले भोगिरहँदा ओली फकाउन उनको सरकार दुुई वर्ष नै टिक्नेसम्मका सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । छानविन नहुँदासम्मका लागि कांग्रेसले उनलाई कारवाही गरेर अनुसन्धान गर्ने न्यूनतम नैतिकता देखाओस् ।