राजनीति

अमेरिकी चुनाव ट्रम्पले जित्ने तथ्य बाहिरियो, ह्यारिस डिबेटमै पछि परिन्


आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपति निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच भएको पहिलो प्रत्यक्ष टेलिभिजन बहसपछि निर्वाचनको माहोल तातिएको हो । पहिलो प्रत्यक्ष बहसमा आक्रमक कमलाविरुद्ध रक्षात्मक ढंगले प्रस्तुत भएका ट्रम्पले दोस्रो बहस अस्वीकार गरेका छन् । प्रस्तुती र मुद्दाका हिसाबले कमलाले ट्रम्पलाई टक्कर दिए पनि मत सर्वेक्षणमा भने ट्रम्प झिनो मतान्तरले अगाडि छन् । फलतः ट्रम्प भर्सेस ह्यारिसको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

आगामी नोभेम्बरमा ५ अर्थात दिनगिन्ती गर्दा अबको २२ औँ दिनमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीचको चुनावी भिडन्तले मतदाता थप हौसिएका छन् । पहिलो प्रत्यक्ष टेलिभिजन बहस ‘प्रेसिडेन्सियल डिबेट’ पछि निर्वाचनको सरगर्मी बढ्दो छ ।

सेप्टेम्बर १० मा भएको पहिलो प्रत्यक्ष बहसमा ट्रम्पविरुद्ध कमला हाबी भइन् । चुनावी एजेन्डा होस् या प्रस्तुती, कमला जति आक्रामक थिइन ट्रम्प उत्ति नै रक्षात्मक ढंगले प्रस्तुत भए । बहसपछि ९१ प्रतिशत डेमोक्र्याटले कमलाले जित्ने दाबी गर्दा ट्रम्पलाई ५३ प्रतिशतको समर्थन रह्यो ।

प्रत्यक्ष बहसपछि १४ प्रतिशत ट्रम्प समर्थकले नै कमलाले राम्रो गरेको बताउँदा ३१ प्रतिशत कसैले नजितेको दाबी गरिरहेका छन । रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार कमलाले राम्रो प्रस्तुती दिएको मतदाताको विश्लेषण छ । प्रेसिडेन्सियल डिबेटपछिका अधिकांश मत सर्वेक्षणहरुमा कमलाले आफ्नो प्रतिशत बढाएकी छन् भने ट्रम्पको मत खासै बढेको छैन ।

डिबेटपछि कमला करिब ५० प्रतिशतको हाराहारीमा टिक्दा ट्रम्प ३९ प्रशितमा खस्किएका छन् । सेप्टेम्बर १२ को मत सर्वेक्षणमा ट्रम्प ४६ र ह्यारिस ५० प्रतिशतमा छिन् । अमेरिकी चुनावमा निर्णायक क्षेत्रमा पर्ने विस्कन्सिनमा ट्रम्प ४६ र कमला ५० प्रतिशतमा छन् । मिशिगन, नर्थ क्यारलाइना, पेन्सिल्भेनियामा ह्यारिस अघि छन् ।

नभाडा, जोर्जा, एरिजोना लगायतमा ट्रम्प, कमला नेक टु नेक देखिएका छन् । तर अर्को रोचक तथ्यले धेरैलाई धक्का दिएको छ । अमेरिकाको प्रख्यात सर्वेक्षण विश्लेषक नेट सिल्भरले ट्रम्पले चुनाव जित्ने सम्भावना ६४ प्रतिशत र ह्यारिसको ३६ प्रतिशत मात्र रहेको दाबी गरेका छन् ।

टेलिभिजन बहसमा कमलाले ¥याख¥याख्ती पारेकै कारण आफ्नै समर्थकको मन जित्न नसकेका ट्रम्पले कमलासँग दोस्रो बहस नगर्ने निर्णय गरेका छन् । ट्रम्पले कमला ह्यारिससँगको सम्भावित दोस्रो बहस अस्वीकार गरिदिएका हुन् । यसअघि यी दुई उम्मेदवारबीच भएको पहिलो बहसमा कमला ट्रम्पमाथि भारी परेको विश्लेषण जारी छ ।


राष्ट्रपतिको निर्वाचनमा होमिएका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र कमला ह्यारिस चुनाव प्रचार–प्रसारमा भ्याईनभ्याईमा छन् । उपराष्ट्रपति ह्यारिस आक्रामक रुपमा प्रस्तुत भइरहेकी छन् भने ट्रम्प रक्षात्मक ढंगले चुनाव प्रचारमा छन् ।