Breaking

कांग्रेसकै घेराबन्दीमा ओली, आरजु–देउवा ठूलो भाग खोज्न


प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिपक्षीको भन्दा सत्ता पक्षको हैरानीले हायल–कायल पारिरहेको छ । सत्ता समीकरण गरेकै दलहरूबाट घेराबन्दीमा परेका ओलीको प्राथमिकता कार्यसम्पादनभन्दा पनि कांग्रेसलाई रिझाउनु भइरहेको छ ।

नेपाली कांग्रेसलाई साथ लिँदै प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई अहिले कांग्रेसकै घेराबन्दीले हैरान पारेको छ । सत्ता सहकार्य गरिरहेको कांग्रेसले प्रदेश देखि केन्द्र सम्ममा नै पदको बार्गेनिङ गरेर ओलीमाथि दबाव दिईरहेको छ । कोशी प्रदेशमा पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नै समर्थनमा बनेको सरकारलाई चुनौती दिँदै आमरण अनसन बस्न पुगे ।

जसको समाधान ओलीले फोन नै गरेर खोज्नु प¥यो । केन्द्रमा पनि कांग्रेसलाई उपसभामुख दिलाउन ओलीले हैरानी खेपिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानाको ठाउँमा कांग्रेस नेतालाई ल्याउन कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई दबाव दिई नै रहेको छ ।

यता, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल पनि असोज २० मा सकिने हुँदा एमालेले सपना मल्ल प्रधानलाई अघि सार्ने तयारी गरेको छ । तर, वरियताका क्रमले कांग्रेस निकट मानिने प्रकाशमान सिंह राउतको नाम आउँदा यसमा सहमति जुटाउन पनि ओलीलाई दबाव नै छ । सत्ता समीकरणमा रहेर मधेशमा मुख्यमन्त्री पाए पनि ओली–देउवाको प्राथमिकतामा नै नपरेपछि उपसभापति हटाउने विषयमा गठबन्धनकै दल ओलीको खिलाफमा छ ।

उपसभामुख हटाउन दुई तिहाई अर्थात् १८४ मत आवश्यक रहँदा १८८ जनप्रतिनिधिसहित ४ बढी सांसद रहेको परिस्थितिमा ६ जना सांसद रहेको जनमत निर्णायक छ । दुई तिहाईका लागि अति आवश्यक पार्टी जनमत नै सरकारसँग असन्तुष्ट हुँदा प्रतिपक्षमा उभिएको छ ।

यो सत्ता समीकरण नै परराष्ट्रमन्त्री अर्थात् देउवा पत्नी आरजु राणाकै कारणले बनेको हुँदा ओलीलाई आरजु रिझाउन परिरहेको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा ओलीमात्रै जाने भने पनि अब आरजु प्रधानमन्त्री भन्दा अघि नै अमेरिका पुग्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर शक्ति देखाएकी आरजुले नै ओलीलाई डोहो¥याईरहेको जानकारको बुझाई छ । देउवा दम्पत्तीको लपेटामा चपेटिका ओलीलाई सत्ता गठबन्धनबाट नै हैरानी खेपिरहनु परेको छ ।

साथ दिन्छु भत्रेले नै असहयोग गर्दा ओली हायल कायल भएका छन् । अहिले कांग्रेसबाट संवैधानिक परिषद्मा एकजना पनि नरहेको अवस्थामा देउवाले प्रधानन्यायाधीश र उपसभामुख दुईटै हत्याउने टिकडम रचिरहेका छन् । दुई तिहाईको जबरजस्त सरकार सञ्चालन र अनुभवले पजि तेस्रो पटक खारिएका प्रधानमन्त्री ओलीको प्राथमिकता जनतासँग जोडिएको मुद्दा हुनु पर्ने हो । तर, दुई तिहाईकै सरकारमा पनि सत्ता पक्षले हैरानी दिँदा उनले त्यसतर्फ सरकारको उपस्थित नै देखाउन सकेका छैनन् ।