Breaking

राज्यभन्दा शक्तिशाली जीबी, पक्रनेभन्दा जोगाउने खेल, मलेसियामा धन्दा


सहकारी ठगीका मुख्य आरोपित जीबी भनिने गितेन्द्रबाबु राईलाई नेपाल फिर्ता गर्न सरकारले प्रहरी टोली पठाएर ताकेता गरेपछि मलेसियाले फेरि थप कागजात मागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट झिकाएर ती कागजात मलेसिया पठाई सकिएको प्रहरीले जनाएको छ । मलेसियाले थप कागजात माग्नुको अर्थ अब जीबी राईलाई नेपाल फर्काउन लचक बनेको अर्थमा हेरिएको छ ।

जीबी राईलाई पक्राउ गर्न सिंगो राज्यसंयन्त्रको सम्पूर्ण शक्ति लगाउँदा पनि अहिलेसम्म उनलाई भेटाउन सकेको छैन । सहकारी ठगी प्रकरणमा जीबीविरुद्ध उजुरी परेसँगै प्रहरीले खोजतलास जारी राखे पनि करिब १ वर्ष अवधि पुगिसक्दासमेत पक्राउ गर्न नसक्दा सरकारमाथि नै प्रश्न उठिरहेको छ । तर उनी भने सुटुक्क भागेर मलेसिया पुगेका छन् ।

जीबी राई मलेसियामा रहेको जानकारी आए पनि उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् सहकारीको अर्बौं रकम अपचलन गरी हजारौं बचतकर्ताको बिल्लीबाठ बनाएका जीबी राईलाई पक्राउ गर्न राज्यको ढुकुटीबाट लाखौँ रुपैयाँ खर्चेर मलेसिया पुगेको प्रहरी टोली एक हप्ताको बसाइँ पछि यही भदौ १९ गते बुधबार रित्तो हात फर्किएको छ ।

सहकारी ठगीका मुख्य आरोपित जीबीलाई नेपाल फिर्ता गर्न सरकारले प्रहरी टोली पठाएर ताकेता गरेपछि मलेसिया सरकारले समेत चासो देखाएको छ । पछिल्लो समय मलेसिया सरकारले थप कागजात मागेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट झिकाएर ती कागजात मलेसिया पठाइसकिएको प्रहरीले बताएको छ ।

मलेसियाले पछिल्लोपटक पीडित र साक्षीको बयानसहितको कागज माग गरेको हो। मलेसियाले मागेका कागजात भाषा उल्था गरेर पठाइएको प्रहरीको भनाइछ।मलेसियाले थप कागजात माग्नुको अर्थ अब जीबीलाईनेपाल फर्काउनकै लागि भएको प्रहरीले बुझेको छ । चाँडै आश्चर्यजनक रूपमा उनलाई नेपाल ल्याउन सकिन्छ भन्ने आशा रहेको पूर्वप्रहरी अधिकारीको पनि बुझाइ छ ।

जीबी राईलाई पक्राउ गर्न दुई गृहमन्त्री असफल भइसकेका छन । अघिल्लो गृहमन्त्री रवि लामिछाने सत्ताबाट हटेपछि रमेश लेखकले गृह सम्हालेसँगै जीबीलाई नेपाल फिर्ता ल्याउन सरकारले ताकिता गरिरहेको छ। लामिछाने गृह मन्त्रालयमा हुन्जेल जीबीलाई फर्काउन प्रभावकारी भूमिका नखेलेको आरोप उनीमाथि थियो । लामिछानेभन्दा अगाडिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीबीलाई नेपाल ल्याउन केही पहलको प्रयास गरेका थिए ।

त्यतिबेलैदेखि इन्टरपोलमार्फत पहल भइरहे पनि सरकारले जीबी राईलाई नेपाल ल्याउन सकेको थिएन । जुन प्रयास अहिले पनि जारी छ । जीबीबारे बुझ्न र मलेसिया सरकारसँग पहल गर्न नेपाल प्रहरीका उपरीक्षक र प्रहरी नायब निरीक्षक मलेसिया गएर गत बुधबार फर्किएका थिए।फर्किएपछि नेपालबाट इन्टरपोलमार्फत थप कागजात पठाइएको हो।जीबीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसके पनि मलेसियाले उनलाई समातेर बुझाउन मानेको छैन ।

यसअघि फागुन दोस्रो साता पनि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा जीबीलाई फिर्ता गरिदिन मलेसिया सरकारलाई कूटनीतिक पत्र पठाइएको थियो।जीबी राईका ६ वटा सहकारीको कारोबार भएका सफ्टवेयर पनि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ। ल्याबले अब एक साताभित्र रिपोर्ट दिने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।रिपोर्ट आए लगत्तै पोखरामा पूरक जाहेरीमा थप व्यक्तिविरुद्ध मुद्दा अगाडि बढाउने तयारीमा प्रहरी छ ।

पछिल्लो समय सहकारी ठगी सम्बन्धमा पोखरा महानगरपालिकाको रिपोर्ट आएपछि परिस्थिति झनै पेचिलो भन्दै गएको छ । फरेन्सिक ल्याबबाट सफ्टवेयरको रिपोर्ट आउने र संसदीय विशेष छानबिन समितिको रिपोर्ट पनि थपिएको१५ दिनभित्रै आए पुनः पूरक अभियोग तयार भई मुद्दा दर्ता हुने देखिन्छ । जुन पूरक जाहेरीमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको पनि नाम समावेश गरिएको छ ।

गृहमन्त्रीबाट हटेपछि प्रहरीले पूरक जाहेरीका सम्बन्धमा रविसँग सोधपुछ गरिसकेको छ। रविले बयानका क्रममा संसदीय समिति र प्रहरीलाई नै इन्कारी बयान दिएका छन्।उनी प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट उनको नाममा गएको एक करोड रकमलगानी भएको प्रमाण भेटिएको थियो । लामिछाने पछिल्लो समय सहकारी प्रकरणका कारण प्रश्नको घेरामा पर्दै आइरहेका छन् । सोमबार बिहान धनगढीमा पत्रकारहरुसंगको कुराकानीमा लामिछानेले सहकारीबाट गलत ढंगबाट गोर्खा मिडिया लगायतका संस्थामा पैसा गएको कुरा स्वीकारेका छन् ।

सुप्रिम र सूर्यदर्शन सहकारीको मुद्दामा अनुसन्धानले गति लिए पनि जीबी राईकै अन्य सहकारीको अनुसन्धानमा भने उति चासो देखिँदैन । काठमाडौं, चितवन लगायतका जिल्लामा पनि जीबीविरुद्ध उजुरी परेको देखिन्छ ।नेपाली कांग्रेसले जीबी र रवि जोडिएका सहकारी ठगीकै विषयलाई मुख्य मुद्दा बनाउँदै लामो समय संसद्समेत अवरोध गरेको थियो। यसक्रममा रविविरुद्ध खरो रुपमा संसद्माप्रस्तुत हुने गरेका कांग्रेस सांसद लेखक नै अहिले गृहमन्त्रीमा विराजमान छन्।

रवि गृहमन्त्री हुँदा जीबीलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गरेका लेखकमाथि जीबीलाई मलेसियाबाट ल्याउनुपर्ने नैतिक बाध्यता र दवाबमा छ । गृहमन्त्री भएको दुई महिनासम्म पनि ठोस नतिजा दिन नसकेको भन्दै लेखकको आलोचना सुरु भएको अवस्थामा सहकारी प्रकण सल्टाउन उनी कति सफल हुन्छन् ? त्यो भने हेर्न बाँकी छ।