Breaking

अमेरिकासँग युद्ध छेड्ने किमको संकेत, कति छ हतियार ?


काठमाडौँ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिका तथा उसका साझेदार देशहरुसँग भिड्नका लागि आणविक शक्ति तयार गर्न निर्देशन दिएका छन् । आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेको राष्ट्रपनीय चुनावलाई लक्षित गरेर उत्तर कोरियाले उत्तेजक हतियारहरु प्रक्षेपण गर्नेसमेत उल्लेख गरेको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन विश्वका चर्चित नेतामध्येका एक हुन् । विश्वकै सर्वशक्तिशाली राष्ट्र अमेरिकालाई अप्रत्यक्ष रुपमा टक्कर दिने विश्वका नेताहरुमा रुसका भ्लादमिर पुटिन र चीनका सी जिनपिङ भए पनि प्रत्यक्ष रुपमा टक्कर दिने नेताका रुपमा किम जोङलाई नै लिइन्छ । विश्वका लागि किम जोङ टाउको दुखाई बनेका छन् ।

विश्वमा उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले सधैँ तरंग ल्याउने गर्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी हतियार परीक्षण गर्नेदेखि कहिले जापानको आकाशको बाटो हुँदै क्षेप्यास्त्र प्रहार गर्नेसम्मका गतिविधि उत्तरबाट हुँदै आएको छ । यस्तै कहिले अमेरिकाको यो वा त्यो सहरसम्म मारहान्न सक्ने आणविक हतियारको परीक्षण भनेर उत्तर कोरियाले तरङ्ग ल्याउने गरेको छ ।

तर यतिखेरको तरङ्ग भने अमेरिका लगायत उसका साझेदार देशहरुसँग भिड्नका लागि आणविक शक्ति तयार गर्न किम जोङले निर्देशन दिएपछि फेरि विश्व तरंगित भएको छ । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएको समाचार साभार गर्दै जर्मनीको विश्व च्यानल डीडब्लूले किमले यस्तो निर्देशन दिएको उल्लेख गरेको हो ।

अमेरिका र उसका साझेदार देशहरुभन्दै जापान तथा दक्षिण कोरियालाई संकेत गरेका किमले उनीहरुबाट आउने जोखिम सामना गर्न यस्तो निर्देशन दिएको बताइएको छ । आगामी नोभेम्बरमा अमेरिकामा हुन लागेको राष्ट्रपतीय चुनावलाई लक्षित गरेर उत्तर कोरियाले केही थप उत्तेजक हतियारहरु प्रक्षेपण गर्ने डिडब्लूले उल्लेख गरेको छ । सन २०२२ पछि उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई विकास गर्दै मिसाइल परीक्षणलाई तीव्रता दिँदै आएको छ । अमेरिकाको भूमिसम्म आणविक हतियार प्रहार गर्ने प्रविधि उत्तर कोरियाले विकास गर्न बाँकी भए पनि जापान र दक्षिण कोरियासम्म पुग्ने हतियार भने बनाएको पश्चिमा विश्लेषकहरुले बताउँदै आएका छन् ।

रुसलाई पश्चिमा देशहरुले घेराबन्दी गरेपछि उसले उत्तर कोरियालाई केही प्रविधि उपलब्ध गराउँदै आएको बताइन्छ । विशेष गरी रकेटसम्बन्धी प्राविधिक क्षेत्रमा रुसले उत्तर कोरियालाई सहयोग गरिरहेको दाबी छ । गत जुनमा पुटिन उत्तर कोरिया पुगेर दुई देशको विकासदेखि रकेट प्रविधिको विकाससम्म सहकार्य गर्ने बताएका थिए । पछिल्लो समय रुसी विज्ञहरु उत्तर कोरियाको भ्रमणमा पटक पटक पुगेको समाचार पनि सार्वजनिक भएका छन् । युक्रेन विरुद्धको युद्धमा रुसलाई उत्तर कोरियाले हातहतियार सहयोग गर्ने तथा उत्तर कोरियालाई अन्न तथा अन्तरिक्ष कार्यक्रममा रुसले साथ दिने कुरा बताउदै आएको छ ।