सत्ताविहीन भएपछि छटपटीमा रहेका पुष्पकमल दाहाल प्रचण्ड यतिबेला सत्ताको अगाडि आत्मसमर्पणकै अवस्थामा पुगेका छन् । विपक्षमा बसेर कुनै पनि मुद्दा उठाउन नसकेका उनी विपक्षीलाई एक बनाउने अवसरबाटसमेत चुकिरहेकाछन् । अर्थात आफ्ना दोस्रो तहका नेता सत्ता पक्षसँग भिडाउने उनी भित्रभित्रै भने सहमतिको खेलमा देखिन्छन् ।
उपसभामुख इन्दिरा राना मगरमाथि सत्तापक्षले राजीनामाका लागि दबाब बढाएपछि नेकपा माओवादीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई काँध थाप्यो । माओवादी सांसदले उपसभामुख रानामाथि दुईतिहाइ बहुमतको बलले संवैधानिक निकायलाई खल्बल्याउन खोजेको दाबी गरे । सत्तारुढ दलले प्रमुख प्रतिपक्षी दललाई निषेध गर्ने नीति उपसभामुख हटाउने तयारीबाट सुरु गरेको दाबी गरेका उनीहरुले यसैलाई मुद्दा बनाए झै देखिन्थ्यो ।
अर्थातसत्तारुढ दलको पछिल्लो कदमले प्रतिपक्ष दललाई एउटै थलोमा उभिन बाध्य पार्ने स्थितिमात्र नभएर मुद्दासमेत दिएको थियो । तर सत्ताविहीन भएपछि छटपटीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई क्यास गर्न सकेनन् । बरु कांग्रेसको आन्तरिक मतभेदका कारण इन्दिरा जोगिँदा सत्तारुढ दलको यही अफ्ठ्यारो पनि उनले प्रयोग गर्न सकेका छैनन् । बरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्नबालुवाटार पुगेका उनी हतार हतार संवैधानिक परिषदको बैठक बोलाएर आफ्नो भाग हात पार्ने दाउमा छन् ।
बुुधबार सभामुख देवराज घिमिरेले नै संसदमा विवादित बनेको ‘हिंसा’को प्रसंग झिक्दा प्रतिनिधिसभाको बैठक नै स्थगित भयो । ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप–प्रत्यारोप चलिरहेको छ भने उनीहरु भिडन्तकै अवस्थामा छन् । विशेषत दुबै पार्टीका दोस्रो तहका नेताहरु यो भिडन्तमा देखिँदा प्रचण्ड यसलाई समेत भागबन्डामा प्रयोग गरिरहेका छन् । अर्थात निरर्थक बहसमा आफ्ना नेता भिडाएका उनी भित्रभित्रै भने सत्तारुढ दलसँगै आत्मसमर्पणको अवस्थामा छन् ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन् । संविधान संशोधन र राजनीतिक स्थायित्वको एजेण्डासहित एमाले–कांग्रेस सत्तामा हुँदा उनीहरुकै कारण विपक्षीलाई मुद्दा मिलिरहेको छ । त्योभन्दा मुख्य कुरा त रक्षात्मक बनेको रास्वपा प्रयोग गर्न सकिने अवस्था छ भने समाजवादी मोर्चासमेत छ ।
त्योबाहेक प्रहरीमा भएको हस्तक्षेप, नखुलेका फाइलहरु,त्यस्तै सहकारीका विषयमा सत्तारुढ दलकै नेताहरुको नाम मुछिएको अवस्था माओवादीका लागि राजनीतिक अवसर बनिरहेको छ । त्यस्तै सडक,सत्ता र सदनमै ओली घेराबन्दीमै छन् । तर यी सबैलाई अवसरका रुपमा प्रयोग गर्न नसकेका प्रचण्ड बाहिर सत्ता–प्रतिपक्षको भिडन्तको भाष्य निर्माण गर्ने र त्यसको फाइदा उठाउने बाटोमा छन् ।
हुन त प्रतिपक्षको काम नै सरकारलाई सचेत गराउने हो । त्योभन्दा महत्वपूर्ण कुरा विपक्षमा रहनेको काम नागरिकलाई उत्तेजित बनाउनेभन्दा सरकारलाई नैतिक दवाव दिने भएकोमा दुईमत छैन । तर नागरिक र समसामयिक मुद्दामाभन्दा उनी नागरिकलाई उत्तेजित बनाउने बाटोमा अघि बढ्दा सत्तापक्षसमेत त्यसैमा खेलिरहेको छ । जसले बाहिर हेर्दा गरामागरम बहस र रस्साकस्सी देखिएपनि आम दृष्टिले हेर्दा ‘काले काले मिलेर खाउँ भाले’ भन्दा फरक विषय बनेको छैन ।
प्रतिक्रिया