राजनीति

एमाले–माओवादी भिडन्तमा रमिते कांग्रेस, माधवले महेशलाई कुट्न खोजे ? लाचार सभामुख


काठमाडौँ— पछिल्लो समय संसद, संसद जस्तो हुन सकिरहेको छैन । साइत हेरेर मात्र सदनमा झुल्किने शीर्ष नेतृत्वको प्रवृत्ति हाबी छ । बिजनेसविहीन सदनमा दोस्रो तहका नेताहरुलाई पार्टीगत भिडन्तमा भ्याइनभ्याई छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुबीच चर्काचर्की चल्यो । सत्तारुढ दल एमाले र प्रतिपक्ष माओवादी केन्द्रका सांसदहरुको जुहारीले संसद अशान्त बन्न पुग्यो । सभामुख देवराज घिमिरेले पटक पटक सदन सञ्चालनको प्रयास गरे पनि एमाले र माओवादी सांसदबीचको आरोपप्रत्यारोप नरोकिएपछि बैठक नै स्थगित गर्न बाध्य भए ।

सहकारी प्रकरणमा मुछिएका सत्तारुढ दल कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङमाथि छानबिनको विषय र उपसभामुख इन्दिरा रानामगरको राजीनामाको विषयले तरंगित सदनको बैठकमा सभामुख देवराज घिमिरेले भदौ १२ गते नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने रुलिङ गरेपछि माओवादी र एमाले सांसदहरुबीच चर्काचर्की भएको हो । उक्त शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने सभामुखले बताएपछि माओवादी सांसदहरु त्यसको प्रतिवादमा उत्रिए । यसक्रममा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न समय दिए । पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरुले सिटबाट उठेर संसद अवरोध गरे । माओवादीले आपत्ति जनाउँदै आक्रोशित बनेपछि एमाले सांसदहरु पनि प्रतिवादमा उत्रिँदा संसदको माहोल झनै तनावग्रस्त बन्न पुग्यो ।

दुई साताअघि भदौ १२ गते बुधबारको प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्द संसदीय की असंसदीय भन्नेमा दोहोरी चलेको थियो । एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले माओवादी युद्धलाई ‘१० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरूले आपत्ति जनाएका थिए ।

एमाले र माओवादीको भिडन्तमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने मौन देखियो । एमाले र माओवादी सांसदहरु संसदमा भिडिरहँदा कांग्रेसका सांसद भने मुकदर्शक बन्दै आएका छन् । प्रतिपक्षी दलहरु एक ठाउँमा उभिएर सरकार र एमालेविरुद्ध आक्रोश पोखिरहँदा कांग्रेसलाई भने सदनमा टुकी बालेर खोज्नु पर्ने अवस्था छ । बुधबारको बैठकमा कुनै पनि कांग्रेस सांसदले सदनमा बोल्ने चेष्टासमेत गरेनन् । एमालेसँगको सत्ता घटक भए पनि कांग्रेसले सदनको पछिल्लो घटनाक्रममा आफूलाई मिसाउन जरुरी नै ठानेन । पछिल्लो समय कांग्रेस रमिते बन्दै आइरहेको छ । त्यसो त प्रमुख दलका शीर्ष नेताको प्राथमिकतामै संसद नपर्नु बिडम्बना हो । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत सदनमा हत्तपत्त जाँदै नजाने । दोस्रो तहका नेताहरु बैठकमा गए पनि हाजिर गर्ने र टाप कस्ने । अनि बाँकी रहेका नेताहरु भने कसले के बोल्नु हुने वा नहुने भन्दै शब्द शब्दको अर्थ जिक्दै एकअर्काविरुद्ध चिथोरा चिथोर गर्ने । नेपालको संघीय संसदको यो दृष्य बढो ताजुब लाग्दो बन्दै गइरहेको छ । त्यसमा पनि पहिलो पटक सदन छिरेका एमाले सांसद तथा प्रमुख सचेतक महेश बर्तौला र माओवादी सांसद माधव सापकोटाबीच सदनमा दिनहुँ जसो सिँगौरी जुधाई चल्दै आएको छ ।

पहिलोपटक सदन छिरेको युवा जोस र झोंक उनीहरुको प्रस्तुतिमा देखिने गरेको छ । तर सधैँको बझुवा प्रवृत्ति र भनावैरीले उनीहरु स्वयम्लाई फाइदा गर्ने देखिँदैन । फलतः संसद व्यक्तिगत गाली गलौच, वादविवाद र पार्टीगत बहस गर्ने थलो बनेको छ ।