राजनीति

संकटमा फस्यो रास्वपा, रवि र इन्दिराकै पद खोसिँदै, ओली वैरी निस्किए, देउवाले बद्ला लिए


काठमाडौँ— स्थापनाकालको छोटो समयमै राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अहिले विभिन्न विवादमा मुछिएको छ । पार्टीको जग र मेरुदण्डका रुपमा रहेका सभापति रवि लामिछाने नै बारम्बार विभिन्न काण्डमा मुछिँदा रास्वपाको साख खस्कदो क्रममा छ ।संवैधानिक पदमा रहेकी उपसभामुख इन्दिरा रानामगर पनि विवादमा मुछिँदा सत्ता घटक दलहरुले महाअभियोग लगाएर निकाल्नेसम्मको तयारीले रास्वपा जसरी उदायो, त्यसरी नै अस्ताउने मार्गमा रहेको देखिन्छ ।


‘नो नट अगेन,पुराना दल र नेताबाट देश बन्दैन’, ‘पुरानाले देशलाई यो अवस्थामा पु¥याए, यिनीहरु असफल भए, अब यीनलाई दोहो¥याउनु हुँदैन ।’ भन्दै २०७९ असार ७गते राष्ट्रिय सभागृहबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक यात्रा छोटो समयमै उत्कर्षमा पुगेर ओरालो लाग्दै गएको छ । जनअपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा र विश्वास गुमाउने अवस्थाबाट रास्वपा गुज्रिरहेको छ । पार्टीको प्रमुख जिम्मेवार व्यक्ति नैनागरितादेखि सहकारी काण्डसम्मश्रृंखलाबद्ध रुपमा मुछिँदा ‘गुड लक रवि दाई’ भन्नेहरु नै खोया हान्न र सहकारी ठग मुर्दाबाद भन्ने अवस्थामा पुगेका छन् ।

सभापति रवि लामिछाने र रास्वपा जनताले दिएको मतको भार बोक्नचुकेको देखिन्छ । स्थापना भएको पाँच महिनामै रास्वपालाईराष्ट्रिय दल बनाएका तिनै जनताले अहिले गल्ती पो गरिएछ कि भनेर सोच्न थालेका छन् । जनताले रास्वपालाई दिएको जनमत सत्ताको ललिपपमा लिप्त हुनका लागि थिएन । खरो प्रतिपक्षी र जनताको आवाज बुलन्द गर्नका लागि थियो । तर स्वयं सभापति सहकारी लगायतका विभिन्नकाण्डबाट बच्न सत्ता र शक्तिको खेलमा लाग्दा देशमा राजनीतिक अस्थिरताको मतियार बन्न पुगे । जुन गतिविधि जनभावना विपरीत रहेको भन्दै अहिले रास्वपाले आलोचना खेपिरहनु परेको छ ।

सभापति लामिछानेकै कारण चितवन – २ का मतदाताले दुईपटक भोट गर्नु पर्दा खिन्नता महसुस गरेका थिए । भलै उपनिर्वाचनमा समेत चितवनका मतदाताले उनलाई भारी मतका साथ जिताएर संसद छिराए ।यसबीचमा ड्राइभरको मृत्यु प्रकरण हँुदै दुई करोडको अडियो काण्डसम्म आइपुग्दा रास्वपा पनि पुरानो दलभन्दा फरक नभएको बुझाइ जनतामा प¥यो । जसको जवाफ जनताले इलाम क्षेत्र नम्बर दुईमा भएको उपनिर्वाचनमार्फत दिए । पार्टीमाथि संकट गहिँरिँदै गएपछि मिसन ८४ को अभियानमा लागेको रास्वपाभित्रको आन्तरिक विवादले समेत थप असर गरेको देखिन्छ । तत्कालीन महामन्त्री मुकुल ढकालले देश घुमेर तयार पारेको समीक्षा यात्राको प्रतिवेदनले ठूलै हलचलमात्रै ल्याएन कि उनी आफैँ पार्टी कारबाहीमा परे र साधारण सदस्यसमेत नरहने गरी बर्खास्तीमा परे । पार्टी सभापति लामिछाने नागरिकता र सहकारी प्रकणमा मुछिनु गलत रहेको र नेतृत्व छाड्नु पर्नेसम्मको प्रस्तावले मुकुलमाथि सिंगो पार्टीपंक्ति खनिन पुगेको थियो । तर उक्त प्रतिवेदन नै रास्वपा सच्चिने र आफ्नो लयमा फर्किने एक मात्र विकल्प रहेको ढकालको दाबी थियो ।आन्तरिक कलहमा फसेको रास्वपाले प्रतिपक्षी कित्तामा पुग्दासमेत सदनमा आफ्नो बलियो उपस्थिति देखाउन सकेन । तर अहिले फेरि रास्वपा लयमा फर्किन प्रयासरत छ । जसअनुसार रास्वपाका सांसदहरु सदनमा खरो रुपमा प्रस्तुत हुन थालेका छन् । सरकारमाथि उनीहरुले गरेको खबरदारीले पनि यसको पुष्टि गर्छ ।

सदनमा सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै गर्दा रास्वपाबाट उपसभामुख भएकी इन्दिरा रानामगरमाथि सत्तारुढ दलहरुले निसाना साँध्न थालेका छन् । बाल आश्रमको नाममा बालबालिका बेपत्ता बनाएकोदेखि मानव बेचबिखनसम्मको आरोपले विवादमा मुछिएकी उपसभामुखलाई पद छाडेर मार्ग प्रशस्त गर्न सत्तारुढ दलहरुले आग्रह गरिरहेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनको चौतर्फी विरोध भयो । सत्ता पक्षका सांसदले उनको राजीनामा माग्न भ्याए । एमाले कांग्रेसले उपसभामुखलाई महाअभियोग लगाएर भए पनि हटाउने तयारी गरेको देखिन्छ । यसलेसंवैधानिक परिषदमा रास्वपाले पाएको एउटा भागसमेत संकटमा परेको छ ।

नयाँ र फरक विचार बोकेको पार्टीको पारिपाटी पुरानैशैलीको भएको आरोप लागिरहँदा रास्वपाको नेतृत्व सच्चिन आवश्यक रहेको विश्लेषण भइरहेको छ । एमालेमा केपी शर्मा ओली, कांग्रेसमा शेरबहादुर देउवा, माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड जस्तै रास्वपामासमेत लामिछानेकै पेरिफेरिमा सिंगो पार्टीपंक्ति चल्नु दुर्भाग्यपूर्ण मान्नु पर्छ । आशा र भरोसा गरिएका नेताहरु स्वर्णिम वाग्ले, मनिष झा, सन्तोष परियार, विराजभक्तश्रेष्ठ र सुमना श्रेष्ठहरुसमेत सभापतिको गलत कार्यमा साथ दिँदा रास्वपा पनि पुराना दलभन्दा फरक नरहेको भाष्य निर्माण भइरहेको छ । आम निर्वाचन आउन अझै तीन वर्ष समय रहेकै अवस्थामा मिसन ८४ को दौडमा रहेको रास्वपाले जनतामाझ पुग्दै गर्दा विगतमा गरेका गल्तीलाई कति स्वीकार्छ र सच्चिएको प्रमाण के कस्तो रुपमा पेस गर्न सक्छ ? त्यो भने ८४ को निर्वाचनको नतिजाले नै देखाउने छ ।