Breaking

भोलि र पर्सि भारीदेखि धेरै भारी वर्षाको सम्भावना


काठमाडौँ – भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाका मौसमविद सरोज पुडासैनीले भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले विहीबार र शुक्रबार (भोलि र पर्सि) लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताए । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ मौसमविद पुडासैनीले भने ।

यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए ।

भारीदेखि धेरै भारी वर्षाले निम्त्याउनसक्ने जोखिमबारे जानकारी दिन महाशाखाले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ ।