Breaking

रविकै हालतमा धनराज गुरुङ, देउवा–ओलीले जोगाउँलान् ?


सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा पूर्वकानुनमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसमेत सहकारी प्रकरणमा मुछिएका छन् । सहकारीको ठूलो रकम हिनामिना प्रकरणमा तानिएपछि चौतर्फी घेराबन्दीमा परेका गुरुङलाई आफूविरुद्धको आरोपको खण्डन गर्न भ्याईनभ्याइ छ । सांसद गुरुङ जोडिएको सहकारी प्रकरण के हो त ? एक रिपोर्ट

गत जेठ ३ गते संसदभित्रको दृश्य हो यो । जहाँ सांसद धनराज गुरुङ, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएनन् मात्र जाई नै लागेका थिए । सामान्य संसदीय मर्यादासमेत कुल्चेर धक्कामुुक्कीमै उनी उत्रिन भ्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय विशेष समिति गठन हुनु पर्ने मुख्य मागलाई बटमलाइन बनाएर कांग्रेसले सदन अवरोधसम्मको गतिविधि गरेको थियो । यसक्रममा सदनमा यस किसिमका अस्वभाविक हर्कत प्रदर्शन भएका हुन् । अहिले कांग्रेसका उपसभापतिसमेत रहेका तिनै धनराज गुरुङ सहकारीको करोडौँ रकम हिनामिना प्रकरणमा मुछिएपछि सिंगो कांग्रेस लज्जित बन्न पुगेको छ ।


साथै यो प्रकरण बाहिर आएसँगै कांग्रेसभित्र हल्लीखल्ली मच्चिएको छ । त्यसबेला सदनमा ओलीसँग पौठेजोरी खेल्न तम्सिएका तिनै गुरुङ अहिले मुख छोपेर हिँड्नु पर्ने अवस्थामा पुगेका छन् ।
गुरुङकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला १४ करोड ८१ लाख रकम हिनामिना गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ । एकाएक सहकारी प्रकरणमा लपेटिएपछि गुरुङ चौतर्फी घेराबन्दीमा परेका छन् ।

सहकारीको रकम हिनामिना प्रकरण बाहिरिएसँगै गुरुङ र उनकी श्रीमती ज्योतिको सम्बन्ध विच्छेदसमेत विवादित बनेको छ । गुरुङले श्रीमतीसँग आफ्नो डिभोर्स भइसकेको दाबी गरे पनि सदनमा भने यो विषयले समेत प्रवेश पाएको छ । सहकारी ठगीमा गुरुङको संलग्नतादेखि नक्कली डिभोर्ससम्मको छानबिन हुनुपर्ने माग उठेको छ ।

तत्कालीन समयमा कानुनमन्त्री हुँदा होस् वा सांसदको हैसियतमा कसैगरी सहकारी पीडितले न्याय पाउनुपर्ने भन्दै न्यायको वकालत गर्ने गुरुङ अहिले आफैँ सडक र सामाजिक सञ्जालदेखि सदनसम्मै लखेटाइमा परेका छन् । संसदमा प्रतिपक्षी दलका सांसदले गुरुङमाथि छानबिन हुनु पर्ने आवाज उठाइरहँदा उनकै पार्टी कांग्रेसका महामन्त्री गगन थापाले समेत गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने अभिव्यक्ति दिएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै दोषी देखिए कारबाहीसमेत हुनुपर्ने धारणा राखे ।

सीआईबीमा आफूविरुद्ध उजुरी परेको समाचार बाहिरिनासाथ सोमबार साँझ गुरुङले पूर्वश्रीमती ज्योति गुरुङ सहकारीको प्रबन्धकका रूपमा कार्यरत रहेको स्वीकार गर्दै उनले गरेको हरहिसाबलगायत अपचलनबारे आफूलाई जानकारी नभएको दाबी गरेका थिए । चार वर्षदेखि नै फरार सूचीमा रहेकी ज्योतिसँग २०७६ सालमा आफ्नो सम्बन्धबिच्छेद भएकाले आफूलाई यो प्रकरणमा जोड्न नमिल्ने उनले तर्क गरेका छन् ।

त्यसपछि भेट नभएको र अहिले उनी कहाँ छिन् भन्नेसमेत जानकारी आफूलाई नरहेको उपसभापति गुरुङको भनाइ छ । सम्बन्धबिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आशंका भए तुरुन्त छानबिन गर्न गुरुङले चुनौती नै दिएका छन् । सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको उनको दाबी छ ।

गुरुङविरुद्ध ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी गरेका हुन् । तर धनराज गुरुङले भने कुम्भराजले फसाउने प्रपञ्च रचेको र उनकै कारण श्रीमतीसँग सम्बन्ध विच्छेद हुन पुगेको बताएका छन् । कुम्भराजले नै आफ्नी श्रीमतीलाई विभिन्न समयमा आफूलाई खबरै नगरी विदेश पठाउने गरेको र सोही कारण उनका गतिविधि तथा कुरा शंकास्पद लाग्दै गएपछि आफ्नो घर परिवार बिग्रिएको दुखेसो पोखेका छन् ।

अहिले कुम्भराजले एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिमासमेत उजुरी हालेका छन् । सहकारी छानबिन संसदीय विशेष समितिले सहकारी प्रकरणको छानबिन प्रक्रियालाई तीव्रता दिइरहेको छ ।

समस्याग्रस्त सहकारी र रकम अपचलनको आरोप लागेका सम्बन्धित व्यक्तिहरुसँग बयान लिनेदेखि अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा समिति रहेको छ । तर, यसक्रममा सहकारी ठगीमा मुछिएका व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा परिरहेका बेला सांसद एवं सत्तारुढ दल कांग्रेसका उपसभापति धनराज गुरुङसमेत तानिएपछि यो विषय थप उत्कर्षमा पुगेको छ । यो विषय थप उचालिएर छानबिनको दायरामा पुग्छ वा केही दिन तातिएर सेलाउँछ ? उनलाई चोख्याउन छलछामको गतिविधि हुन्छन् या कानुनी काठघरामा उभ्याइन्छ ? यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ ।