अन्तर्राष्ट्रिय

चुनावमा होमियो श्रीलंका, राष्ट्रपतिदेखि राजापाक्षेका छोरालाई हालयकायल पार्ने अनुरा को हुन् ?


श्रीलंकामा यसै वर्षको सेप्टेम्बर २१ मा राष्ट्रपतिको निर्वाचन हुने भएको छ । राष्ट्रपतिको निर्वाचनमा ३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन् । जसमध्ये पुरानालाई भन्दा पनि नयाँ अनुहारको जित हुने सर्वेक्षणहरुले देखाएको छ ।

सरकारी ढुकुटी रित्तिएर कागज किन्नसमेत पैसा नभएर विद्यार्थीको परीक्षा नै स्थगित गर्नु परेको श्रीलंकाको घटना धेरै पुरानो होइन । दुई वर्षअघि टाट पल्टिएको श्रीलंका अहिले तंग्रिदो अवस्थामा छ । विदेशी दातृ निकायको सहायता र पर्यटनको भरले अर्थतन्त्र सुधारको बाटोमा आउन संघर्षरत श्रीलंकामा यही सेप्टेम्बर २१ मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ ।
श्रीलंकाको निर्वाचन आयोगले घोषणा गरेको यो निर्वाचनले श्रीलंकाको भविष्यको समेत निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकामा संकटकालको अवस्थामा हुन लागेको यो पहिलो चुनाव हो । यो राष्ट्रपतीय निर्वाचनलाई निकै महत्वपूर्ण मानिएको छ । २०२२ को आर्थिक संकटबाट पार पाउन संघर्षरत देशको यो निर्वाचनले भविष्य तय गर्नेछ । आर्थिक संकटका कारण जनस्तरबाट सरकारको चर्को विरोध र प्रदर्शन भएपछि पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंकामा करिब २ करोड २२ लाख जनसंख्या छ । जसमध्ये १ करोड ७ लाख आफ्नो मताधिकार प्रयोग गर्न योग्य छन् । यस निर्वाचनमा ३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन् । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्लो समय परिवर्तनको आवाजहरु उठ्न थालेका छन् । गत साउन ३१ गते राष्ट्रपतीय उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको थियो ।

जसमा चर्चित अनुहार थिए– वर्तमान राष्ट्रपति ७५ वर्षीय रनिल विक्रमासिंगे, पूर्वराष्ट्रपति रनसिंगे प्रेमदसाका छोरा ५७ वर्र्षीय सजिथ प्रेमदसा तथा पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री महेन्दा राजापाक्षेका छोरा ३८ वर्षीय लक्ष्मण नमल राजापाक्षे । यी चर्चित अनुहारमा युवा उम्मेदवारका रुपमा रहेका सजिथ प्रेमदसा र लक्ष्मण राजापाक्षेको पारिवारिक पृष्ठभूमि राजनीति नै रहेको तथा दुवै पूर्वशासकहरुका सन्तान भएकाले उनीहरुमाथि चुनौती देखिएको छ । साथै उनीहरुमाथि जनताको भरोसा कस्तो रहन्छ भन्ने अहिले नै आकलन गर्न नसकिने अवस्था छ ।

राजापाक्षे परिवारले श्रीलंकामा लामो समय आलोपालो गर्दै शासन सत्ता चलाएकाले लक्ष्मणका लागि चुनावी प्रतिस्पर्धा सहज नरहेको विश्लेषण भइरहेको छ । अहिले श्रीलंकाका जनताले नयाँ अनुहारको खोजी गरिरहेका छन् । जसका कारण माक्र्सवादी नेतृत्वको गठबन्धन ‘राष्ट्रिय जनशक्ति’ का नेता अनुरा कुमारा दिसानायके जनतामाझ लोकप्रिय बन्दै गएका छन् ।

भ्रष्टाचारले आक्रान्त देशमा आत्तिएका युवामाझ उनी निकै लोकप्रिय बन्दै गएको देखिएको छ । उनी विक्रमासिङ्घेका लागि ठूलो चुनौती बन्दै गएका छन् । आर्थिक संकटको मुख्य कारण भ्रष्टाचार नै हो भन्ने युवाहरुको बुझाइ छ । यसबाहेक उनले सन् २०२२ मा तत्कालीन राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै आन्दोलनमा भाग लिएका मतदाताको समर्थन पनि पाइरहेका छन् । दिसानायकेको बढ्दो लोकप्रियता र चर्चाले उनको सम्भावना बलियो देखिँदै गएको छ । उनको मत सर्वेक्षणको ग्राफ पनि उक्लिँदो अवस्थामा छ ।

केही समय अगाडि श्रीलंका ओपिनियर ट्र्याकर सर्वेले गरेको एक सर्वेक्षणअनुसार अनुरा कुमारा सबैभन्दा अगाडि छन् । उनको पक्षमा ३७ प्रतिशत मत देखिएको छ भने उनका निकतटम प्रतिस्पर्धी सजिथ प्रेमादसाको ३६ प्रतिशत छ । वर्तमान राष्ट्रपति रनिल विक्रमासिंगेको मत प्रतिशत २३ मात्रै छ । महेन्दा राजापाक्षेत्र पुत्र लक्ष्मणको दलको मत भने कमजोर देखिएको छ । श्रीलंकामा मात्रै नभइ विश्वका विभिन्न मिडियाहरूले पनि अनुरा कुमाराको जितको सम्भावना बलियो रहेको देखाएका छन् ।