Breaking

रोहित र सन्दीपसहित प्रशिक्षक देसाई विश्वकप लिग यात्रामा


काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली आज राति क्यानडा प्रस्थान गर्दैछ । विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीलाई एक कार्यक्रमका बीच आज बिदाइसमेत गरिएको छ । क्यानडा जानुअघि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने दाबी गरे ।

विश्वकप लिग–२ खेल्न क्यानडा जानुअघि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने दाबी गरेका छन् । घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गरेका हुन् । नेपालले आइसिसी विश्वकप लिग–२ साइकलअनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो श्रृंखला खेल्दैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आयोजना गरेको बिदाई कार्यक्रममा प्रशिक्षक मोन्टीले यी श्रृंखलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेका प्रशिक्षण क्याम्प उपयोगी सावित हुने आशा गरे । यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै त्यहाँबाट सिकेका स—साना पक्ष आगामी खेलमा उपयोगी हुने उल्लेख गरेका छन् । उनले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताए ।

नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछानेले भारत र श्रीलंकामा गरेको अभ्यासले आगामी श्रृंखलामा मद्दत पुग्ने आशा व्यक्त गरे । उनले आफ्नो टोली सन्तुलित रहेको पनि उल्लेख गरेका छन् । लामो समयपछि एकदिवसीय टोलीमा फर्किएकाले खेल्न उत्साहित रहेको सन्दीपको भनाइ छ ।

नेपालले आगामी सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय श्रृंखलामा घरेलु टोली क्यानडा र ओमानसँग खेल्दैछ । नेपालले सेप्टेम्बर १६ मा क्यानडासँग खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ । नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ । एकदिवसीय श्रृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला पनि हुनेछ । श्रृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ ।त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन् ।

अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक र ट्वान्टी–२० दुवै श्रृंखला हुनेछ । यसअघि सन्दीपले अमेरिका प्रवेशको भिसा पाएका थिएनन् । यद्यपि, यसपल्ट सकारात्मक सन्देश प्राप्त भएको र उनीमाथि लागेको आरोपबारे पनि पैmसला भएकाले सन्दीपले भिसा पाउनेमा आशावादी रहेको क्यानका सचिव पारस खड्काले बताए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल र क्रिकेट पर्यायवाचीजस्तै भएको उल्लेख गर्दै नेपाली क्रिकेट खेलाडीले देशलाई संसारभर चिनाएको बताए ।

क्यानले यो भ्रमणका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । नेपालले पहिलो श्रृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्तश्रृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्याण्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो । नेपाली टोलीमा सन्दीपसँगै रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।