राजनीति

अपहरणको आरोप लागेका लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा


काठमाडौँ— बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्।

मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकार मञ्च बाँके सहित विभिन्न संघ–संस्थाले एक महिनादेखि काठमाडौंमा धर्ना र माइतीघरमण्डल–बालुवाटार पैदलमार्च सम्मका आन्दोलन गरेका थिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले समेत मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै मन्त्री कुर्मीलाई कारबाही गर्न माग गरेको थियो ।

मन्त्री कुर्मी साउन ९ गते मन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिले कांग्रेसभित्रको संस्थापन इतर पक्ष समेत असन्तुष्ट थियो । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निकट मानिने कुर्मीलाई संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सिफारिस गरेका थिए । कांग्रेस लुम्बिनी प्रदेश समितिले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएर कुर्मीलाई मन्त्री बनाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो।

जसले गर्दा उनीमाथि राजीनामाको दवाव बढेको थियो । धेरैतिरबाट दवाव र आलोचना बढेपछि मुख्यमन्त्री आचार्यले राजीनामा दिन उपयुक्त हुने सन्देश मन्त्री कुर्मीलाई दिएका थिए । आज मुख्यमन्त्री आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच कुर्मीको राजीनामाबारे छलफल भएपछि चौधरीले पनि राजीनामा दिन उपयुक्त हुने सुझाव दिएका स्रोतको भनाई छ । त्यसपछि कुर्मीले मुख्यमन्त्री आचार्यलाई राजीनामा बुझाएका हुन् ।