Breaking

रवि फस्ने पक्का ! प्रमाणले घेरिए, लेखक र प्रहरीले बढाए सक्रियता


काठमाडौँ – संसदीय छानबिन समितिले बयान लिएपछि कांग्रेससँग प्रमाण मागिरहेका पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरीले बयान लिएपछि भने सार्वजनिक रुपमा बोल्न छाडेका छन् । त्यसमाथि उनीसँगै नाम जोडिएका २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी हुनु र जीबी राई खोज्न सरकारले कम्मर कस्दा रवि थप झस्किएका छन् ।

समसामयिक घटनाक्रममा विचार राखिहाल्ने र संसद अवरोध हुँदा पनि बोल्न पाउनु पर्ने अडान लिने रवि लामिछानेले केही दिनयता सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । तर, लामो मौनता तोड्दै सोमबार धनगढी पुगेका रविले सहकारी प्रकरणबारे बोलेका छन् । संसदीय छानविन विशेष समितिले बयान लिएपछि चितवन पुगेर प्रमाण मागेका रवि लामिछाने प्रहरीले बयान लिएपछि भने गुमनाम बनेका थिए । तर, को प्रदेशस्तरीय कार्यक्रमका लागि धनगढी पुगेका रविले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । यसअघि उनी यो बारेमा पनि आफूलाई थाहा नभएको बताउँदै आएका थिए । तर त्यसमा आफू भने संलग्न नरहेको जिकीर गरेका छन् ।

संसदीय छानविन समितिमा रविले पूर्णतः इन्कारी बयान दिएका थिए । गोर्खा मिडिया नेटवर्कमा आबद्ध हुँदा अध्यक्ष जीबी राईले गरेको आर्थिक व्यवस्थापनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए । तर, एक टेलिभिजन अन्तरवार्ताका क्रममा भने समिति सभापति सूर्य थापाले पनि मिडियाको कारोबारमा लामिछाने पनि हिस्सेदार रहेको निष्कर्ष सुनाएका थिए ।

तर, रवि झस्किनुको कारण प्रहरीले लिएको बयान हो । समितिमा बयान दिएलगत्तै चितवन पुगेर कांग्रेससँग प्रमाण मागिरहेका बेला प्रहरीले बयान लिन पोखरा बोलाइरहेको थियो । रविले चितवनको कार्यक्रम सकाएर मात्रै आउने भनेपछि प्रहरी आफैँ काठमाडौं आएको थियो ।

भदौ आठ गते पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको प्रहरीले १० गते लामिछानेसँग ठाडो बयान लिएको थियो । यससँगै सूर्यदर्शन सहकारी ठगीमा गत साउनमा मात्रै रवि बाहेक २५ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि रवि थप सशंकित बनेका छन् । उनलाई तत्कालै संकटमा पारि नहाल्ने तर, साइजमा ल्याउने कांग्रेस एमालेको रणनीति देखिन्छ । आफू गृहमन्त्री भएका बेला प्रहरीबाटै क्लीन चिट लिएर हिँडेका रवि अहिले समितिले छानविन गरिरहेकै समय प्रहरीले पनि सक्रियता देखाएपछि थप झस्किएका हुन् ।

यहीबीचमा दुई वर्षदेखि फरार रहेका गोर्खा मिडियाका अध्यक्ष जीबी राई अझै भेटिएका छैनन् । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नै भगाएको र रवि लामिछानेले समेत खोज्न नसकेको जीबी खोज्न अहिलेका गृहमन्त्री रमेश लेखक सक्रिय बनेका छन् । सत्ताबाट बाहिरँदै गर्दा रविले जीबीको लोकेसन मलेसियमै ट्रयाक भएको बताएका थिए । केही दिनअघि मात्रै जीबी मलेसियाको समुद्री क्षेत्रमा बोटिङ गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । त्यही आधारमा प्रहरी मलेसिया पुगे पनि रित्तै नेपाल फर्किएको छ ।

यसबारे औपचारिक उपलब्धि प्रहरीले बताएको छैन । तर प्रहरीले जीबीबारे थप कागजात इन्टरपोललाई पठाएको छ । यसले उनको खोजीमा थप सहयोग पुग्नेछ । अर्थात, रवि गृहमन्त्री भएका बेला जोगाइएको आरोप लागेका जीबी खोज्न प्रहरी लागिपरेको छ । उसै पनि जीबी भागिरहनुले रविलाई फाइदा हुने अर्थमा हेर्ने गरिन्छ । तर उनको पनि जोडतोडका साथ खोजी हुन थालेपछि रवि लामिछाने साइजमा आएको देखिन्छ । संसदीय समिति र प्रहरीले गरिरहेको छानबिनले रविलाई कानुनी कठघरामा उभ्याउन सक्ने सम्भावना रहेकोसमेत विश्लेषण भइरहेको छ । यसले उनी अफ्ठ्यारोमा पर्दै गएको देखिन्छ ।