Breaking

पटकपटक रुस र चीनको सैन्य अभ्यास, अमेरिकालाई कति थ्रेट ?


चीन र रुसका सेनाबीचको निकटतालाई जोड दिँदै यसै महिना दुई देशका सेनाले संयुक्त सैन्य अभ्यास गर्दैछन् । रुसले युक्रेनमाथि आफ्नो भीषण आक्रमणलाई बढाउँदै गर्दा दुई महिनाकै अन्तरालमा चीन र रुसबीच सैन्य अभ्यास हुन लागेको हो ।

दुई महिनाअघि मात्रै चीनको झानजियाङमा संयुक्त अभ्यास गरेको चीन र रुसका सेनाले अब फेरि अर्को संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । सोमबार चीनको रक्षा मन्त्रालयले दुई देशका नौ सेना तथा वायु सेनाले रुसको तटीय क्षेत्रमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यासमा भाग लिने जनाएको हो ।

यही सेप्टेम्बरको अन्त्यतिर संयुक्त अभ्यास हुने भनिए पनि निश्चित मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । विश्वव्यापी मामिलामा देखिरहेको अमेरिकी प्रभुत्वलाई रोक्न दुई सहयोगी राष्ट्रहरूले सैन्य र आर्थिक सहयोगलाई बढावा दिइरहेको परिपे्रक्ष्यमा सैन्य अभ्यास हुन लागेको हो । यो अभ्यासले चिनियाँ र रुसी सेना बीचको रणनीतिक सहयोग स्तरलाई अझ गहिरो बनाउन र सुरक्षा खतराहरूसँग संयुक्त रूपमा सामना गर्ने क्षमता बढाउने उद्देश्य राखेको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

सोमबारै बेइजिङले आफ्ना शीर्ष कूटनीतिज्ञसमेत रहेका परराष्ट्र मन्त्री वाङ यीले यसै साता ब्रिक्सको उदीयमान अर्थतन्त्रहरूको सुरक्षा बैठकमा सहभागी हुन रुसको भ्रमण गर्ने समेत जनाएको छ । गत महिना, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली क्विआङलाई भेट्दा रुसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्धले नतिजा दिने बताएका थिए ।

यसअघि जुलाईमा, रुस र चीनले दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए । उक्त अभ्यास चीनलाई युक्रेन आक्रमणमा रुसको समर्थन नगर्न नेटोले चेतावनी दिएकै साता भएको थियो । मस्कोले २०२२ मा युक्रेनमा पूर्ण रुपमा आक्रमण सुरु गर्नु अघि दुई देशबीच सीमाविहीन साझेदारीको घोषणा गरेको थियो । त्यसयताका वर्षहरूमा रुस र चीनले पश्चिमी आधिपत्य विरुद्ध लड्दै सैन्य र आर्थिक सहयोग बढाउँदै आएका छन् । युक्रेन युद्धमा रुसको आलोचना नगरेको चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध त गराएको छैन । तर रुसी तेल र ग्यासका साथै नागरिक र सैन्य दुवै प्रयोगका लागि विद्युतीय र अन्य वस्तुहरूको आपूर्तिकर्ताको रूपमा सहयोग गर्दै आएको छ ।