Breaking

दुई महिनामै घेरिए ओली, काम गर्ने मौकै दिएनन्


दुई महिना अघिसम्म वाम शक्तिहरू मिलेर जानु पर्छ भत्रेहरू नै अहिले कम्युनिस्ट नेतृत्व सरकारको खरो आलोचना गरिरहेका छन् । देशकै ठूलो कम्युनिस्ट शक्ति नेकपा एमालेले सत्ता सम्हालिरहँदा पनि कम्युनिस्टहरूकै घेराबन्दीमा किन परिरहेका छ त ?

कम्युनिस्टहरूको साथ छोडेर नेपाली कांग्रेससँग कुम मिलाउन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले कम्युनिस्ट नेताहरूकै निसानामा परिरहेका छन् । कम्युनिस्टहरूसँगको सत्ता समीकरणलाई उथलपुथल गरेपछि रुष्ट बनेका कम्युनिस्ट नेताहरू ओलीमाथि आक्रामक बनेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिरको यात्रा देखाउनुको कारक नै ओली बन्दा त्यसकै प्रतिशोधमा माओवादी लगायतका कम्युनिस्ट पार्टीहरू लागिपरेका छन् ।

आफूलाई प्रधानमन्त्रीको कुर्सीबाट प्रतिस्थापन गरेर ओलीले उक्त स्थान लिँदा प्रचण्ड रन्थनिएका छन् । सत्ता लम्ब्याउन कांग्रेससँगको गठबन्धन तोडेर कम्युनिस्टको साहारा खोज्दा ओलीले धोका दिएपछि त्यसको असन्तुष्टि पटक पटक पोखिरहेका छन् । दैनिक जसो हुने सार्वजनिक कार्यक्रममा प्रचण्डले ओली र सरकारप्रति हमला गर्ने गरेका छन् । प्रचण्डले दिने प्रत्येक अभिव्यक्तिमा ओली नेतृत्वको सरकार भ्रष्टाचारीको सरकार भएको टिप्पणी हुने गरेको छ ।

माधव नेपालको एकीकृत समाजवादी पार्टीमा त झन् ओलीको विरोध गर्ने नै ठूलो नेता हुने जस्तो भइसकेको छ । वर्ग शत्रुकै रुपमा देखिएका माधवको पार्टी र ओलीको पार्टी भित्र नै आन्तरिक द्वन्द्व रहेको छ । एकीकृत समाजवादीले महाधिवेशन सकेको करिब डेढ महिना पछि भर्खरै पदाधिकारीको समेत टुङ्गो लगाइसकेको छ ।

तर, पनि नेता कार्यकर्ताहरू एकपछि अर्काे गर्दै पार्टी छोड्ने क्रम रोकिएको छैन । नेकपा एसको विकल्प नै एमाले बन्दा पदाधिकारीमा नपरेकालाई एमालेले तानिरहेको छ । कार्यकर्ता खोस्ने र अफ्ठ्यारोमा पार्न खोज्दा ओलीप्रति माधव आक्रामक बनेका छन् । जुन सार्वजनिक मञ्चमा एकीकृत समाजवादीका नेताहरूले दिने अभिव्यक्तिबाट पुष्टि हुन्छ । एकीकृत समाजवादीको महासचिवमा दोहोरिएका घनश्याम भुसाल नेपालमा ओलीले नै समाजवादको भाष्य बिगारेको आरोप लगाइरहेका छन् ।

ओली, प्रचण्ड, माधव जस्ता कम्युनिस्ट नेताहरूको सहकार्यमा बनेको सरकारलाई ओलीले नै घात गर्दा सत्ताबाट विमुख हुनु परेको पीडा नेताहरूलाई छ । सत्तामा भएका कम्युनिस्ट पार्टीलाई एक झड्कामै सडकमा पु¥याई दिएको प्रतिशोध नेताहरूमा देखिन्छ । त्यसैले पनि ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न खोजेको आरोप उनीहरूले लगाइरहेका छन् । तर, कम्युनिस्टकहरूको एकअर्काप्रतिको खिचातानी उनीहरूको पेशा नै भएको कतिपयको तर्क छ । कम्युनिस्टले कम्युनिस्टको विरोध गर्नु वाम शक्तिहरूको स्थापनाकाल देखिकै प्रवृत्ति भएको जानकारको भनाइ छ ।

अन्य विविध कारण भए पनि प्रतिपक्षी कित्तामा बसेपछि उनीहरुको धर्म नै सरकारको विरोध गर्नु हो । प्रतिपक्षीले त्यही धर्म निभाइरहँदा ओली आफैँ पनि अराजक बन्न खोज्नु र विरोधीलाई डस्ने काम गर्दा उनीमाथिको असन्तुष्टि झन् झाँगिदो छ । बोल्नेभन्दा पनि सुत्रे र गरेर देखाउने ठाउँमा अहिले ओली छन् । तर, उनी सवालजवाफ गर्न आफैँ हौसिन्छन् । उनको चाडैँ देखाउने प्रतिक्रियात्मक शैलीकै कारण पनि उनी आलोचनाको सिकार बनिरहेका छन् ।