Breaking

शेखर–शशांककै टक्कर, कोइराला परिवार नै छैनन् एकढिक्का


काठमाडौँ – जन्मोत्सव र स्मृति दिवसमा मात्रै सम्झना गरिने विश्वेश्वरप्रसाद कोइराला (बीपी)को आज १११ औं जन्मजयन्ती मनाइएको छ । बीपीकै नाम भजाएर अहिलेसम्म नेपाली राजनीतिमा टिकिरहेको नेपाली कांग्रेसले बीपीलाई ब्राण्डको रुपमा प्रयोग गरे पनि सिद्धान्त र विचारलाई भने तिलाञ्जली दिँदै गएको छ ।

नेपाली कांग्रेसको खस्कदो साखलाई जोगाइराख्ने एउटै मात्र अस्त्र भनेको संस्थापनमध्येका एक विश्वेश्वरप्रसाद कोइराला (बीपी) को नाम मात्र हो । चाहे महाधिवेशन होस् या निर्वाचन आउँदा वा कहीँ कतै आफूलाई अवसर पाउँदा बीपीको अस्तुसमेत प्रयोग गर्न कांग्रेस पछि हट्दैन । त्यसबाहेक बीपीको नीति, विचार, सिद्धान्तमा कांग्रेस कहीँ कतै देखिँदैन । जन्मोत्सव र स्मृति दिवसमा वर्षको दुई दिन बीपीलाई अनिवार्य सम्झिने कांग्रेसको बाँकी दिन सत्ता र शक्ति नै प्राथमिकतामा पर्ने गर्छ ।

आफ्नो स्वार्थ र आफूलाई लाभ हुने कुरामा मात्रै बीपीको नाम जप्ने कांग्रेसले मात्र ब्राण्डको रुपमा उनलाई प्रयोग गर्दै आएको छ । सत्ता स्वार्थका लागि उत्तरपन्थीहरूसँग मिल्न पुगेको कांग्रेस देशलाई अफ्ठ्यारो पर्दा राजासँग पनि मिल्नु पर्छ भन्ने बीपीको मेलमिलाप नीतिलाई अपनाउँदै लोकतन्त्रको रक्षाकै लागि एमालेलगायतका दलसँग मिलेको दाबी गर्छ । नेताको व्यक्तिगत लाभका लागि नारा र भाषणमा ठूला ठूला आवाजले बीपीको नाम लिँदै गर्दा सत्तामा भएको कांग्रेसले समाजवादको कुरो गरे पनि व्यवहारमा भने कहीँ कतै त्यसको तारतम्यता मिलेको देखिँदैन । आफ्नो स्वार्थ र आफूलाई लाभ हुने कुरामा कांग्रेसले बीपीको नाम भजाई रहेको छ, भविष्यमा पनि भजाउने छ ।

राजनीतिक रुपमा नेपालमा बीपीको विरासत कोही कसैले डगमगाउन नसक्ने खालको छ । पछिल्लो समय पार्टी दिशाहीन, गतिहीन र नीतिहीन मात्रै होइन कि अभिभावक नै नभएको जस्तो पनि बनेको छ । त्यसैले कांग्रेस गुटभित्र पनि उपगुट हुँदै विभाजित भइरहेको छ । कांग्रेस देश र जनताको हितमा केन्द्रित हुनुभन्दा पनि व्यक्ति केन्द्रित बनेको छ ।

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नसकेको कांग्रेसले नेपाल विद्यार्थी सङ्घसहितका भ्रातृ सङ्गठनहरूको एक दशकदेखि महाधिवेशन नै गर्न सकेको छैन । पार्टी महाधिवेशन भएको ६ महिनाभित्र गठन हुनुपर्ने कुनै पनि निकाय र संरचनाले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् । विभाग, कार्यसम्पादन समिति, संसदीय समिति गठन कांग्रेसको प्राथमिकतामा पर्नै सकेको छैन । संगठन निर्माणभन्दा सत्ता, शक्ति र गुटबन्दीमा रुमलिएको कांग्रेसको संगठन भने सिथिल बन्न पुगेको छ ।

कांग्रेसको एउटा खम्बाकै रुपमा रहेका बीपी पुत्र शशांक कोइराला कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामथ्र्य आफूसँगमात्रै भएको बताउने गर्छन् । त्यस्तै पार्टी सभापतिको कार्यशैलीमा असन्तुष्ट पक्ष छुटिएका कोइरालाका सन्तानहरूलाई एक बनाउँदै पुनः कोइरालाकै विरासत फर्काउन जुट्ने तयारी गरिरहेका छन् । अहिलेसम्म बीपीकै नाम भजाएर त्यसको ब्याज खाइरहेको कांग्रेस अब पनि बीपीकै नाममा राजनीतिक यात्रा तय गर्न चाहन्छ । युवापुस्ताले पुरानालाई नपत्याई रहेको अवस्थामा कांग्रेस अहिले पनि बीपीकै नाममा पार्टीप्रति आकर्षण जगाउन तत्पर छ । आ–आफ्नै स्वार्थमा लिप्त राजनीतिज्ञहरुले विचार र नीतिलाई बक्सामा ताल्चा लगाएर राख्ने अनि सत्ता यात्रा गर्नलाई मात्र ‘बीपी’ ब्राण्ड ब्युँताउन खोजिरहेका छन् ।

कांग्रेस ‘बीपी’कै ब्राण्डलाई ब्युँउताएर पार्टीलाई अघि बढाउन खोजिरहेको छ । उनको विचार र सिद्धान्तको चर्चा गर्ने कांग्रेसी नेताले समयानुकूल विचारको प्रार्दूभाव त परैको कुरा उनकै विचारलाई पनि स्थापित गर्न सकेका छैनन् । यद्यपि, बीपीको नाम जपेर नथाक्ने तर उनको आदर्शलाई बिर्सदा कांग्रेसले संस्थापक नेताकै धज्जी उडाइरहेको छ ।