काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरुमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औंल्याएका छन् ।
गत चैतमा नै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाको कार्यकाल सकिएको थियो। पत्रकार महासंघ केन्द्रले असोज ५ गतेका लागि नयाँ निर्वाचनको मिति तोकिएको छ।
यस अगाडि जेठ २६ गतेका लागि निर्वाचन हुन नसकेपछि पुनः असार २२ गतेका लागि समय निर्धारण भएको थियो। तर मतदाता नामावलीमा देखिएको विवाद समाधान नहुँदा निर्वाचन हुन सकेको थिएन। आगामी असोज ५ गतेका लागि नयाँ निर्वाचन मिति तय भएपनि हालसम्म नयाँ मतदाता नामावली र कार्यतालिका सार्वजनिक भएको छैन।
यस अगाडि भदौ १६ गते विज्ञप्ति जारी गर्दै उनले घोषित मितिमा निर्वाचन हुन नसकेकामा आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए।
प्रतिक्रिया