Breaking

राजा फ्याँक्ने हस्ती गगन–योगेश र झाँक्री गणतन्त्रमा हारे ?


नेपाली राजनीतिमा यदि सबैभन्दा बढी जोखिममा कोही छ भने पुराना दलका दास्रो तहका नेताहरु छन् । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेर पनि आफ्नै नेतृत्वका कारण पेलानमा परेका उनीहरु प्रश्न र नयाँ शक्तिको उत्तिकै मारमा देखिन्छन् । जसको ज्वलन्त उदाहरण गगन थापा,योगेश भट्राई र रामकुमारी झाँक्री जस्ता नेता बन्दा के छ त यो तहका नेताहरुको हालत ?

नेपालको विद्यार्थी आन्दोलको इतिहासमा दरिलो उपस्थिति बनाएकी रामकुमारी झाँक्री यतिबेला अलमलमा देखिन्छिन् । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आबद्ध छिन् । तर आफ्नै नेता कार्यकर्ताले नपत्याएपछि पार्टीको उपाध्यक्षमा हारेकी उनी अहिले मिडिया अन्तर्वार्ताहरुमा आफैँलाई फर्केर हेरिरहेको भावमा प्रस्तुत भइरहेकी छिन् ।

यो उनको भावकुकतामात्र होइन हिजो जीवनका प्रारम्भिक समयदेखि खर्चिएको ऊर्जा, उत्साह र उमंगप्रतिको विस्मात पनि हो ।अवसरका हिसाबले एकपल्ट मन्त्री भएकी उनी अब न दल कि भएकी छिन् न युवा कि ? किनभने प्रहरीको लाठी खाँदैव्यवस्थाका लागि दिएको योगदान उनले साथ दिएको नेतृत्वकै कारण धुमिल भइसकेको छ । यही परिस्थितिको अर्को उदाहरण बनेका छन्, नेकपा एमालेका नेता योगेश भट्टराई ।

खद कुनै समयमा उनको रापताप कम थिएन । एमालेभित्रैपनि विद्रोही देखिने उनी दश बुँदेमार्फत एमालेमै त बसे तर न उनी पार्टीको आफ्नो हुन सके न युवाको । पुराना पार्टीप्रति युवामा देखिएको आक्रोशको घानमा उनी छन् । अवसरका हिसाबले एकचोटी मन्त्री भएका उनी गाली खाने हिसाबले पुराना शीर्ष नेतृत्वकै हाराहारीमा छन् । अहिले अध्यक्ष केपी शर्मा ओली फकाएर एक पाटाको क्षति न्यूनीकरणमा लागेका उनी त्यसमा पनि सफल भइसकेका छैनन् ।

कुनै समय नाम नै ब्राण्ड भएका कांग्रेसका महामन्त्री गगन थापा पनि यसको ज्वलन्त उदाहरण हुन् । भलै योगेश र रामकुमारी भन्दा अलि चल्तापूर्ता देखिएका उनी पार्टीभित्रै लड्ने अवस्थामा छन् । लोकतान्त्रिक पार्टी भएको लाजकै कारण बोल्न पाएपनि सभापति शेरबहादुर देउवा उनलाई पेलिनै रहेका छन् । यो पल्ट भने आगामी निर्वाचनदेखि पार्टी एक्लै चुनावमा होमिने आफ्नो एजेण्डा पास गराएर उनी केही सन्तोषको सास फेरिरहेका छन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । पुराना दलहरुमा दोस्रो तहका यस्ता थुप्रै नेता छन् जो भिरको चिन्डो उधो न उभो कै अवस्थामा देखिन्छन् । उनीहरु यस्ता पात्र हुन् जसले जिन्दगीका थुप्रै रहरहरु यो आन्दोलनलाई बुझाएर, निजी चाहना बिर्सिए र देशमा उथलपुथल गर्छु भनेर लागि परे । तर एउटा आन्दोलनबाट उठेका उनीहरुमाथि यति ठूलो प्रहार छ किरुनुपर्छ कि त बहुलाएर हाँस्नुपर्ने अवस्था छ । पार्टी छोडौँ यतिका वर्ष रगत पसिना सिन्चिएको छ, कसरी छोड्नु, नछोडौँ न नेतृत्व सुधार्न सकिन्छ न नेतृत्व गर्ने अवसर नै आउँछ ।

बरु विद्रोह गर्न नसकेको भन्दै नयाँ शक्ति र युवाहरुको समेत प्रहारमा परेका उनीहरु दोहोरो चेपुवा छन् । अर्थात हिजोका दिनमा व्यवस्था परिवर्तनका लागि गरेको दुःख पनि उनीहरुको भोगेका छन् । अहिले काम गर्छु भन्ने हुटहुटी पनि छ । तर त्यो अवसर आएको छैन । आएपनि आफ्नै पार्टीको घेराबन्दी र सबैलाई उस्तै देख्ने ठूलो नागरिक जमातका कारण केही गर्न सक्ने अवस्थासमेत छैन । फलतः निराशाको खेतीले मात्र नपुग्ने महसुस गर्ने अवस्थामा आममतदाता कहिले पुग्छन् भन्ने आशमा यस्ता नेताहरु देखिन्छन् ।

हुन त राजनीति नै नाफाका लागि गरिने विषय होइन । समय र परिस्थितिसँगै नयाँ नेतृत्व जन्मिनु स्वभाविक हुदाँ योगदान गरेकै भरमा सबैथोक पाउनुपर्छ भन्ने पनि होइन । तर काम गर्न पनि नपाउने र गाली पनि खानु पर्ने यो अवस्थाले उनीहरुमात्र मर्माहत छैनन्,निराशाको खेती गर्नेलाईसमेत फाइदा भइरहेको छ । जसले देशलाई चाहिने नेतृत्व विकास गर्नेभन्दा चटक देखाउने व्यक्तित्व हाबी बन्दा योगदानकोसमेत गलत व्याख्या भइरहेको छ । जुन सबैलाई एकै डालोमा हाल्ने प्रवृत्ति देशकै लागिसमेत घातक नबन्ला भन्न सकिँदैन ।।