Breaking

बाइडेनका छोराले कर छले, १७ वर्ष जेल सजाय होला ? चुनावमा कस्तो प्रभाव ?


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन् । हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले १४ लाख डलर कर नतिरेको स्वीकार गरेका हुन् ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि मुख्य दलहरू डेमोक्रेटिक र रिपब्लिकनबीच रस्साकसी चलिरहेको छ । पछिल्लो समय दुवै दलका उम्मेदवारहरु आफ्ना एजेन्डामार्फत मतदाता रिझाउन निकै सक्रिय देखिन्छन् । यसैबीच चुनावकै पूर्वसंध्यामा अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन् ।

हन्टर बाइडेन तिनै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका छोरा हुन् । हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले एक्कासी नौवटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन् । अदालतमा सो मुद्दा हेर्ने ‘ज्युरी’ छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसके पछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन् ।


अमेरिकामा बिरलै मात्रै प्रयोग हुने ‘अल्फर्ड प्ली’ दिन न्यायाधीशले मानेको खण्डमा अभियुक्तले गल्ती स्वीकार गरे उनलाई निर्दोष मानिन्छ । हन्टरले ‘अल्फर्ड प्ली’ मागेपछि सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए । त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए । अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ ।

तर हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन् । उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनावपछि आगामी डिसेम्बरमा हुनेछ । उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउने छन् । गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए । त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

हन्टरले बन्दुकसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा परिवारका सदस्यले लामो समयसम्म बेइज्जती बेहोर्नु परेकाले फेरि परिवारले त्यस्तो बेहोर्न नपरोस भनेर गल्ती स्वीकार गरेको बताएका छन् । अमेरिकामा संघीय मुद्दामा सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिन सक्छन् । तर अमेरिकाका राष्ट्रपति जो बाइडेनले बन्दुककै मुद्दा चल्दा पनि आफ्ना छोरालाई माफी नदिने भनिसकेका छन् । यसले पनि चुनावमा केही फाइदा हुने देखिन्छ । यद्यपि उनी जेल जान्छन् वा जाँदैनन् भन्ने विषय चुनाव पछि नै निश्चित हुने छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।