Breaking

रविको प्रमाणमा गृहमन्त्रीको बोली फेल, जिब्रो थुत्छु भन्दापनि IGP चुप


असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहित शपथ खाएका गृहमन्त्री रमेश लेखक एक आशा गरिएका नेता हुन् । उनले गृहमन्त्रालय सम्हालेको५२ दिन पुगिसकेको छ । सरकारले आफ्नो परीक्षणकाल पार गरिसक्दा पनि लेखकले सम्हालेको मन्त्रालयले हालसम्म कुनै प्रभावकारी कार्य गरेको देखिँदैन । जसलाई लिएर उनी प्रतिपक्षमा हुँदाको रुप र सत्तामा हुँदाको कार्यशैलीलाई लिएर चर्चा भइरहेको छ । सार्वजनिक कार्यक्रममासमेत उति नदेखिनेगृहमन्त्री लेखकको गुमनाम अवतारले कतै उनको राजनीतिक भविश्य त खतरामा पर्दैन भन्ने आशंका उब्जिएको छ ।

तपाईंले‘मिस्टर इन्डिया’ नामक एउटापुरानो हिन्दी फिल्म पक्कै हेर्नु भएको होला । जुन फिल्मका नायकसंग आफूअदृश्य हुने शक्ति हुन्छ ।हो, त्यस्तै भूमिकामा देखिन्छन् हालका गृहमन्त्री रमेश लेखक । अहिलेउनी अदृश्य जस्तै छन् । उनी न त सिंहदरबार छिरेको÷ निस्केको देखिन्छ,न त कतै कुनै सभा समारोहमा भेटिन्छन् । गृह जस्तो संवेदनशील र शक्तिशाली कुर्सीमा बिराजमान भएको ५२ दिन पुगिसकेको छ । तर उनले हालसम्म एउटा गतिलो सिन्का भाच्न सकेका छैनन् ।

उनकै मातहतको निकाय प्रहरी प्रशासनमा उमेर हदका कारण विवाद र भाँडभैलो मच्चिँदा पनि उनी चुइक्क बोलेका छैनन् । आफ्नै आईजीपीको जिब्रो थुत्छु भनेको सुन्दा पनिउनीसुनेको नसुने झै गरेर बसेका छन् । उनकै पार्टीकांग्रेसका महामन्त्रीद्वयले सहकारी काण्डको प्रमाण हामीसँग छ भन्दा पनि सहकारीछानबिनमा प्रभावकारी परिमाण ल्याउन सकेका छैनन् ।प्रतिपक्षमा हुँदा तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी प्रकरणको प्रमाणै प्रमाण पेस गरेका उनी आफैँ गृहमा पुग्दा भने चुपचाप मात्रै छैनन् कि गुमनाम सरह छन् ।

अघिल्लो सरकारलेअन्तिम चरणमा पुर्याउन लागेको भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पनि सामसुमकै अवस्थामा छ । बाढीपहिरो, डुबान रदुर्घट्नाले देश आक्रान्त हुँदा पनि गृहमन्त्री लेखकले प्रभावकारी पहल गर्न सकेको देखिँदैन ।उनको हालको अवस्था हेर्दा मुखमा पानी, कानमा तेल, आँखामा पट्टी बाँधेर बसेको जस्तो देखिन्छ ।

गत असार३१ गते शपथ खाएर गृहमन्त्रालयको कार्यभार सम्हाले कै दिन लेखकको आत्मविश्वास गुमेको देखिन्थ्यो । संसदको रोस्ट्रममा सिंह झै गर्जिने लेखक सिंहदरबार छिर्दा भने उनको भावभंगी भिजेको मुसा जस्तो प्रतित हुन्थ्यो । जुन रुप र स्वरुपमा उनी पहिले देखिन्थे । तर अहिले त्यसको ठिक विपरीतदेखिँदा धेरैलाई उनी उनै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक हुन् त भन्नेमा आशंका उब्जिन थालेको छ ।

पछिल्लो १८ महिनामा तीन गृहमन्त्री फेरिएका छन् । २०७९ चैत १७मा एमाले माओवादी गठबन्धनबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले केही प्रभावकारी कदमहरु चाल्दा चर्चा बटुले । पूर्वगृहमन्त्रीसहित अन्य हाईप्रोफाइल व्यक्तिहरुलाई पक्राउ गरेर नक्कली भुटानी शरणार्थी प्रकरण लगायतकेही सनसनीपूर्ण काम गरेर देखाए । जसको तारिफ मुक्तकण्ठले पूर्वप्रहरी अधिकारीहरुनै गर्छन् । श्रेष्ठको आँट र साहसलाई सबैले तारिफ गरेका थिए ।

करिब ११ महिना नारायणकाजीश्रेष्ठले गृह सम्हाले पछि त्यस लगत्तैरास्वपा सरकारमा सहभागी हुँदा २०८० फागुन २३ मा रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बने । उनले भने बोल्ने र स्टण्ड गर्ने बाहेक सम्झिन लायक काम गर्न सकेनन् । लामिछानेले करिब ४ महिना गृह सम्हाले। तर रातारात असार १७गते भएको नयाँ समीकरणले सत्ता फेरबदल भएसंगै लामिछाने गृहबाट बाहिरिन पुगे । यसपछि बनेको ओली नेतृत्वको नयाँ सरकारमा लेखक गृहमा आएका हुन् । तर गृहमन्त्री बनेका लेखकले न नारायणकाजी जस्तो काम गरे न रवि जस्तो बालेकै देखियो । उनी पछिल्लो डेढ वर्षमा बनेका तीन गृहमन्त्रीमा सबैभन्दा कमजोर देखिएका छन् । त्यसो त उनको अझै हनिमुन अवधिनै चलिरहेको छ । तथापि, बिहानले दिनको संकेत गर्छ भने झै उनको यो कार्यशैलीले यो कार्यकाल खासै प्रभावकारी बन्नेमा आशंका पैदा भइरहेको छ ।

प्रतिपक्षी कित्तामा हुँदाकांग्रेसको प्रमुख सचेतक लेखकले संसद्मा राख्ने अभिव्यक्ति निकै तार्किक, ओझिलो र पेचिलो हुने गथ्र्यो । कुनै पनि विषयमा धारणा राख्दा सिधैँ नभनी घुमाउरो गरी प्रस्तुत गर्ने उनको शैली उत्कृष्ट रहने गथ्र्यो ।पार्टीमा यत्तिका बौद्धिक नेता पनि रहेछन्, किन उचित अवसर दिइएन भन्ने आवाजहरु उठ्ने गरेका थिए । तर जब उनी सत्ता र जिम्मेवार पदमा पुगे, भरोसापूर्ण छवि देखाउनबाटै चुक्दै गएका छन् ।

हनिमुन पिरियडको आधा समय गुजारेर परीक्षणकाल पार गर्दा पनि गुमनाम हुनुले लेखकको सत्ता सयर आफ्नै राजनीतिक भविष्यमाथि खतरापूर्ण देखिन्छ । गर या मरको अवस्थामा रहेका लेखकले आफ्नो कार्यशैली सुधार्छन् वा यसैलाई निरन्तरता दिन्छन् ? निकट भविष्यले प्रष्ट पार्ने नै छ ।