Breaking

जुम्लाबाट सुर्खेत जाँदै गरेको हाइस कालिकोटको तिलागुफामा दुर्घटना, ८ जना घाइते, ५ को अवस्था गम्भीर


काठमाडौँ— कर्णाली राजमार्गको तिलागुफा-५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य छन्। १५ जना सवार गाडी ओरालो सडकमा ब्रेक नलाग्दा मोड्ने क्रममा सडकमै पल्टिएको छ।

सुर्खेत जाँदै गरेका सिंजा-३ का ५२ वर्षीय धनमाने सार्की, सोही ठाउँका ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, सोही गाउँकी ६४ वर्षीया मनकन्या चौलागाई, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए। कालिकोटको तिलागुफा नगरपालिका-८ का तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाई र पूर्ण प्रसाद चौलागाईं पनि घाइते भएको स्थानीय तथा प्रत्यक्षदर्शी मनमोहन पाण्डेले बताए।
घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।