Breaking

अरुलाई दोष दिएर हुँदैन, देश बनाउने हामीले हो : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा २१औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए ।

अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रह गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको उल्लेख गरे । देशलाई सबल बनाउने गतिशिलताका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले देश बनाउनु छ । देश बनाउने हामीले हो । हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन् । देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो । अहिलेका एक्टरहरू हामी हौँ । हामीले अरुलाई दोष लगाएर हुँदैन । यतिबेला हामीले राम्रो काम गर्‍यौँ भने भोलिका लागि राम्रो स्थिति बन्छ । त्यसकारण राम्रो स्थिति बनाऔँ । राम्रो काम गरौँ । देशमा सकारात्मक परिवर्तन ल्याऔँ । जनताको जीवनमा सकारात्मक अनुभूति होस् । सेवाग्राहीले अहिलेको सरकार अहिलेको कर्मचारीतन्त्र यि सबैकुरा सकारात्मक छन्, हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभूति गर्न पाउन् । हामीले देशलाई सबल बनाउने गतिशीलता दिएर अघि बढौँ ।’

प्रधानमन्त्री ओलीले जनतालाई पुर्‍याउने सेवामा कुनै पनि कारणले कमी हुन नदिन निर्देशन दिए ।