Breaking

अमेरिकी चुनावमा रुसी हस्तक्षेप, पुटिन कमलाको पक्षमा खुले, ट्रम्पलाई धक्का


काठमाडौँ अमेरिकामा राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा रुसलेसमेत आफ्नो चासो र सक्रियता बढाउँदै लगेको छ । रुसका राष्ट्रपतिदेखि सञ्चारमाध्यमसम्म नै अमेरिकी चुनावलाई लिएर सार्वजनिक रुपमै बोल्न थालेका छन् ।

संयुक्त राज्य अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि मैदानमा छन् भने उनलाई चुनौती दिन डेमोक्य्राटिक पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस चुनावी अभियानमा छिन् । जस अन्तरगत उनीहरू आफ्नो पक्षमा नतिजा ल्याउन चुनाव प्रचारप्रसारमा होमिएका छन् । यसैबीच अमेरिकाको चुनावलाई लिएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुख खोलेका छन् ।

भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’मा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई ह्यारिसको पक्षमा उतार्न आवश्यक रहेको बताएका पुटिनले डेमोक्य्राटका कमलालाई समर्थन गर्ने जनाएका हुन् । ह्वाइट हाउसले पुटिनलाई अमेरिकी चुनावबाट बाहिर रहन आग्रह गरेको भोलिपल्ट नै पुटिनको यस्तो अभिव्यक्ति आएको हो । पुटिनले गत फेब्रुअरीमा पनि ट्रम्पको सट्टा बाइडेनको समर्थन गरेका थिए । रुसमाथि अन्य अमेरिकी राष्ट्रपतिलेभन्दा ट्रम्पले बढी प्रतिबन्ध लगाएको स्मरण गर्दै ह्यारिस यस्ता कार्यबाट टाढै रहने विश्वाससमेत पुटिनले व्यक्त गरेका छन् । तिक्ततापूर्ण दुई देशबीचको सम्बन्ध कमलाको जितले सुमधुर हुने पुटिनको विश्वास छ ।

पुटिनले कमलाको पक्षमा अभिव्यक्ति दिइरहँदा उता अमेरिकाले भने रुसको सरकारी मिडियाका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति चुनावमा दखल दिएको आरोप लगाउँदै अमेरिकाले रुसी मिडियाका १० जना अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको हो ।

रुसको राज्य सत्ताबाट सञ्चालित साविकको ‘रुस टुडे’ (आरटी) मिडियाले टेनसीको एक फर्मलाई ‘अमेरिकी दर्शकहरूका लागि रुसी सन्देशहरू उत्पादन गर्न र प्रसारण गर्न’ एक करोड अमेरिकी डलर प्रदान गरेको अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले दाबी गरेका छन् । गारल्याण्डले मस्को, ट्रम्प र कमलाबीचको चुनावमा आफू अनुकूल नतिजा चाहेकोसमेत बताएका छन् ।

अमेरिका र रुस भूराजनीतिकदेखि आर्थिक र सैन्य सबै क्षेत्रमा कट्टर दुश्मनका रुपमा संसार भरमा परिचित छन् । यस्तोमा अमेरिकी चुनावअघि रुसको गतिविधि हस्तक्षेपकारी भएको अमेरिकाको बुझाई छ । आसत्र राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यसहित मस्कोले सञ्चारमाध्यमबाट अभियान चलाएको अमेरिकाको दाबी रहिरहँदा रुसले भने अमेरिकी दाबीलाई सिधैँ अस्वीकार गरेको छ ।