Breaking

विरासत फर्काउन प्रचण्डको दौड्धुप, सत्ता ढाल्नेदेखि कार्यकर्ता बटुल्नेसम्मका योजना


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षमा थन्किए यता झनै भ्याई नभ्याईमा छन् । शक्तिशाली सत्ता गुमेको रनाहमा रहेका प्रचण्ड जसोतसो पार्टीभित्रको संकट सुल्झाउँदै जनताको साथ खोज्न गाउँ पसे यता थप व्यस्त बनेका हुन् । अनेक राजनीतिक फण्डाले राष्ट्रिय राजनीति तरंगित छ । सत्तारुढ दलका नेताहरु प्रचण्डमाथि वचनवाण प्रहार गर्न व्यस्त हुँदा प्रचण्ड भने देश दौडाहमा छन् ।


प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अर्थात बा र बालेन भिडन्तले राष्ट्रिय राजनीति तरंगित छ । बा र बालेन समर्थकबीच सामाजिक सञ्जाल फेसबुकमा फलो, अनफलोको अभियानले राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।


सदन पनि सरकार र बा कै कारण तात्तिएको छ । बा का मन्त्रीहरुको हर्कले हद नाघेपछि सदनमा सरकारको जवाफ खोज्नेहरुको लर्को र मन्त्रीको बोलीमा ब्रेक लगाउनु पर्नेदेखि बर्खास्त र राजीनामासम्मकै विषय बुलन्द बनेको छ । नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता, कार्यकर्ताबीच फेसबुकमा सुरु भएको जुहारीको सिकार प्रधानमन्त्री ओली बनेका छन् ।

ओली र बालेनको भिडन्तकैबीच एमालेका उपमहासचिवसमेत रहेका ओली सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्ति स्वयम् मन्त्री गुरुङलाई भन्दा बा लाई भारी परेको छ । ओलीले जथाभावी अभिव्यक्ति नदिनु भनेर आफ्ना मन्त्रीलाई सम्झाउँदै विषय थामथुम पार्न सफल भएका छन् । अझ भनौं बालेनसँग विवाद बढेपछि यो विषय ओझेल पर्दा तत्काललाई सञ्चारमन्त्री गुरुङ सुरक्षित भएका छन् ।

सत्तापक्षकै सांसदहरुले सदनमा हंगामा मच्चाउँदा प्रतिपक्ष कित्ता कमजोर देखियो । अर्को ओलीले प्रचण्डलाई प्रहार गर्न छोडेका छैनन् । मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले प्रचण्ड परिस्थिति भाँड्ने खेलमा लागेको ब्रिफिङ गरेका हुन् । प्रचण्डले भाँडभैलौ मच्चाउन खोजेको ओलीको आरोप छ । शक्तिशाली सरकारको अनेक फण्डा र हर्कतमा माओवादी रमिते बनेको छ । धन्न माधव सापकोटा, राजन दाहालहरु जसोतसो सरकारको खण्डन गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले प्रमुख प्रतिपक्ष दल माओवादीको इजजत जोगाई राखेका छन् ।

सत्ता गुमेको रनाहले रनथनिएका प्रचण्ड पार्टी उपमहासचिव जर्नादन शर्माको विकल्प सहितको एजेन्डाले थप झस्किएका छन् । जसोतसो पार्टी फुट जोगाए पनि पूर्णत संकट टार्न सकेका छैनन् । पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष कायम छ । आगामी चुनावमा कसैको ओत नलाग्ने अठोट लिएर संगठन निर्माणमा जोड दिइरहेका प्रचण्ड पार्टीभित्रको संकट टार्न केन्द्रदेखि तल्लो तहसम्म नेता–कार्यकर्तासँग हिमचिम बढाई रहेका छन् । प्रचण्ड सर्कुलर जारी गर्नेदेखि आफैँ गाउँ पसेका छन् । सत्ताविहीन प्रचण्ड पार्टी नेतृत्वको पद जोगाउँदै शक्तिशाली बन्ने होडमा देश दौडाहमा लागेका छन् । जब कि प्रचण्डले साच्चै पार्टी सुधारेरै अघि बढ्ने हो भने जर्नादनले अघि सारेका विकल्पहरु पूर्णता बेवास्ता गर्न असम्भव रहेको विश्लेषण भइरहेको छ ।

पार्टीभित्र एक छत्र हर्ताकर्ता रहँदै आएका प्रचण्ड सत्ता राजनीतिबाट विमुख हुँदै जनताको खोजीमा निस्केका हुन् । ठूलो पार्टीपंक्ति प्रचण्डकै पक्षमा छन् । फलतः प्रचण्डको पार्टी सत्ता स्वतः सुरक्षित छ । तर राष्ट्रिय राजनीति झनझन तरलता उन्मुख छ । यस्तो अवस्थामा प्रचण्डको रणनीतिक अस्त्रबारे आमचासो बढेको छ ।