Breaking

लभ परेका ओली–प्रचण्डको सधैँ भिडन्त, एकले अर्कालाई खुइलाउन जे पनि बोले


नेपाली समकालीन राजनीतिमा सबैभन्दा धेरै कोही भिडिरहन्छन् भने ती हुन्, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । बारम्बार सत्ता सहयात्री बनिसकेका यी दुईबीचको सम्बन्ध सुमधुर हुनु भन्दा झन्झन् रस्साकस्सी र खिचातानीमै अघि बढिरहेको छ ।

राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन भने पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रास्साकस्सी भने स्थायी जस्तै नै छ । प्रचण्डको सत्ता बहिर्गमनसँगै भएको ओलीको सत्तारोहणको ५२ दिन बितिसक्दा उनीहरूबीच टसलकै श्रृङ्खला नै चलेको छ । सदन, सडक र सञ्चारमाध्यसम्मै तीव्र असन्तुष्टि पोख्ने उनीहरू बारम्बार एक–अर्काप्रति खनिने गरेका छन् । सत्ताबाट हात धुनु परेको पीडामा रहेका प्रचण्ड पटक पटक दुई तिहाइ सरकारको दम्भ नदेखाउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै हिँडेका छन् ।

गत साउन २१ गते विराटनगरमा बङ्गलादेशमा भएको दुई तिहाइकै सरकारको हालत सम्झाएका प्रचण्डले पुनः भदौ ८ गते शनिबार पनि पार्टीको भेलालाई सम्बोधन गर्दै बंगलादेशबाट सिक्न सरकारलाई सुझाएका थिए । त्यसको चार दिन पछि धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न ओलीलाई चेतावनी नै दिएका थिए । ओलीले पनि भदौ १५ गते क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको भन्दै कसैले चाहँदैमा बङ्गलादेश र श्रीलङ्का जस्तो बत्र नसक्ने जवाफ फर्काएका थिए ।

त्यस्तै, विरोधीको आवाजलाई भुईंमा खस्नै नदिने ओलीले प्रचण्डलाई अरु पनि मुख भरिकै जवाफ फर्काएका छन् । भदौ १९ गते बुधबार एमालेको पोलिटब्यूरो बैठक समापन गर्दै ओलीले प्रचण्ड धोका दिन छुरा तिखारेर बसेको र त्यही थाहा पाएर आफूले एक राउण्ड किक् दिएको अभिव्यक्ति दिएका थिए । बिहीबार पुनः त्यसको प्रत्युत्तरमा प्रचण्डले अब जनताले राउण्ड किक् हात्रे भन्दै ओलीलाई जवाफ फर्काए ।

ओली र प्रचण्डको राजनीतिक लडाइँ यतिमा नै सीमित छैन । उनीहरूको यो खिचातानी एक अर्कालाई भ्रष्टाचार करार गर्न पनि चलिरहन्छ । भदौ आठ गते नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८ औं भेलामा ओली सरकारलाई दलाल पुँजीपति र जाली फटाहाहरूले प्रतिनिधित्व गरिरहेकाले यो सरकार भ्रष्टाचारीहरूको भएको प्रचण्डले दाबी गरे । ओलीले यसको पनि जवाफ दिन बाँकी राखेनन् । त्यसको दुई दिन पछि अर्थात् भदौ १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले भात र रोटी मात्रै खाने तर, घुस नखाने भन्दै प्रचण्डलाई काउण्टर दिन भ्याए ।

प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको भन्दै निर्दोषलाई दोषी करार नगर्ने बताएका ओलीले राज्य शक्तिको दुरुपयोग गरेर रिसिइबी साध्नकै लागि कसैलाई फसाउँने शैलीमा पक्राउ गर्न निर्देशन पनि नदिने भन्दै ढुक्क भएर काम गर्न प्रहरीलाई सुझाएका थिए । यसअघिको सरकारले कसैलाई फसाउँनकै लागि नियन्त्रणमा लिने गरेको जस्तै अभिव्यक्ति दिएका ओलीले अघिल्ला सरकारलाई भ्रष्टाचारी कै रुपमा कटाक्ष गर्न भ्याए ।

विचार र सिद्धान्त एउटै भए पनि दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका यी दुईको राजनीतिक जुहारी मत्थर हुने कुनै सङ्केत देखिँदैन । बरु, देशमा कुन सच्चा कम्युनिस्ट पार्टी भत्रेमा नै प्रतिष्ठाको लडाइँ चलेको देखिन्छ । राजनीतिक लडाइँमा रहेका उनीहरूको टकराव देख्दा राजनीतिक उद्देश्यभन्दा पनि एक अर्कालाई सिध्याउन कै लागि बाझाबाझ भइरहेको देखिन्छ । आफ्नो स्वार्थ सिद्ध गर्न जुनसुकै बेला खुसुक्क मिल्न सिपालु यी दुईको सम्बन्ध सौहार्दमयभन्दा बढी तिक्ततापूर्ण नै रहँदै आएको छ ।