Breaking

कैद कट्टाका लागि ४९२ कैदीमाथि उजुरी आह्वान


काठमाडौँ— विभिन्न कसुरमा कैदमा रहेका ४९२ कैदीबन्दीको कैद कट्टाका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ ।

कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकालेको हो । कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो तथा उजुरी भए ७ दिनभित्र दिन विभागले सूचना जारी गरेको छ ।जसमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक २ जना, मलुकी फौजदारी अपराध संहिता कार्यान्वयन हुनभन्दा पहिला भएका घटनामा संलग्नहरु ७१ जना गरी ४९२ जनाको नाम रहेको छ ।

फौजदारी संहिता कार्यान्वयन हुनु भन्दा पहिला भएको घटनामा ४० प्रतिशत कैद भुक्तान पछि बाँकी कैद कट्टा गर्न सकिने व्यवस्था छ । त्यसअघि ९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि ४९२ जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको छ ।

उनीहरु दुबै जना ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने गरी प्रक्रिया अघि बढाइएको कारागार व्यवस्थापन विभागका जयनारायण आचार्यले बताए । ‘सरकारले एक वर्षमा विभिन्न उपलक्ष्यमा चार पटकसम्म कैद कट्टा गरेर कैदीहरुको रिहा गर्न सक्छ । यसअघि १५ जेठमा गणतन्त्र दिवसमा कैद कट्टा गरेर रिहा हुनुपर्नेमा केही कानुनी जटिलता भएर रोकिएको थियो’, आचार्यले भने, ‘कानुनी प्रक्रिया सल्टाएपछि गणतन्त्र दिवसको अवसरमा छुट्नेहरु ६२० को सूची निकालिएको थियो । अहिले संविधान दिवसमा छुट्नेहरुको सूची सार्वजनिक गरिएको हो ।’

१५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद कट्टा गरी कैदीबन्दी रिहा हुँदै आएका थिए । तर यस वर्ष गणतन्त्र दिवशमा कैदी रिहा भएका छैनन् । कैद कट्टासम्बन्धी नियमावली २०७६ संशोधन नभएकाले ६२० जनाको सूचना ढिलो निकालिएको थियो ।