Breaking

हिन्दु महिलाहरूको महान पर्व तीज सुरु, आज दरखाने दिन


काठमाडौं । हिन्दु महिलाहरूले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन । आज चेलिबेटीलाई बोलाएर दर खुवाउने गरिन्छ । खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गरिन्छ । दरखाने समय र स्थान ठाउँअनुसार फरक फरक रहेको छ ।

कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति प्राप्त गर्न दर खाने चलन बसेको बताइन्छ ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीजको ब्रत बस्ने चलन रहेको छ । यसैबीच, तिजको किनमेलले बजारमा चहलपहल बढेको छ ।