अन्तर्राष्ट्रिय

युद्ध रोक्न इजरायलमै प्रदर्शन, नेतान्याहु घेरिए


काठमाडौँ – गाजामा ६ जना बन्धकको हत्या भएपछि इसराइलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध देशव्यापी प्रदर्शन भएको छ । हमासको बन्धकमा रहेका आफ्ना नागरिकहरुलाई छुटाएर देश फर्काउने विषयमा प्रधानमन्त्री नेतान्याहु गम्भीर नरहेको भन्दै इजरायली जनताले तत्काल बन्धक छुटाउन पहल गर्न माग गर्दै देशव्यापी प्रदर्शन गरेका हुन् । एक रिपोर्ट ।।।
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि इतिहासकै ठूलो आक्रमण गरेको करिब ११ महिना पुगेको छ ।

गत अक्टुबर ७ मा गरिएको आक्रमणपछि हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । बन्धक बनाएर लगिएकामध्ये पछिल्लो समय ६ जनाको दक्षिणी गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि शव फेला परेको थियो । इजरायली सेना (इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले शव भेटिएकाहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँच जना इजरायली नागरिक र एक अमेरिकी नागरिकको शव भेटिएको जनाएको थियो ।

करिब एघार महिनासम्म शान्त रहेका इजरायली नागरिक ६ जनाको शव फेला परेसँगै आक्रोशित भएका छन् । जसका कारण इजरायलका विभिन्न स्थानमा सरकारविरोधी प्रदर्शन चर्केको छ । बाँकी बन्धकलाई मुक्त गराउन युद्धविराम सम्झौताका लागि दबाब दिने उद्देश्यले इजरायलका विभिन्न स्थानमा दशौं हजारले प्रदर्शन सुरू गरेका छन् । प्रदर्शनकारीहरूले बन्दीहरूको रिहाइका लागि नेतान्याहु सरकारले हमाससँग सम्झौता गर्न धेरै प्रयास नगरेको आरोप लगाएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले भने माफी मागेका छन् । बन्धकहरूलाई फिर्ता ल्याउन असफल भएको भन्दै नेतान्याहुले इजरायली जनतासँग माफी मागेका हुन् । उता, हमासले पनि युद्धविराम सम्झौता भएन भने अन्य बन्धक पनि कात्रोमा घर फर्किन्छन् भनेर धम्की दिएको छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरबाट पनि नेतान्याहुमाथि दबाब बढिरहेको छ ।

इजरायलले आफूले दिएको हतियार अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्न प्रयोग गर्न सक्ने भन्दै बेलायतले हतियार दिन रोक लगाएको छ । तर नेतान्याहु आफ्नो अडानमा अड्डी लिएर बसिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।

नेतान्याहुलाई विदेशबाट मात्रै हैन आफ्नै सेनाले पनि आन्दोलन रोक्न सुझाव दिएको छ । अक्टुबर ७ को आक्रमणमा इजरायलमा करिब १२ सय जनाको ज्यान गएको थियो । त्यसको जवाफी कारबाहीमा इजरायलले सुरू गरेको आक्रमणमा परि गाजामा ४० हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ । बन्धक बनाइएकामध्ये एक नेपालीसहित ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।