Breaking

बालेन सक्न एकढिक्का एमाले, सुनिता मैदानमै उत्रिन्


नेकपा एमाले र काठमाडौँ महानगपालिकाका मेयन्द्र बालेन्द्र शाह अर्थात बालेनबीचको भिडन्त बढ्दो छ । बेला बेलामा भइरहने यो भिडन्तमा यो पटक एमालेले घेराबन्दी बढाएको छ भने बालेन पछि हटेका छन् । जसमा केही मुद्दामा एमालेलाई कांग्रेसलेसमेत साथ दिएको देखिन्छ ।

सत्तारुढ एमाले र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) बीचको ‘वाक युद्ध’ले अहिले नेपाली राजनीति तरंगितछ । झापाको गिरीबन्धु टि इस्टेटको जग्गा प्रकरण,बागमती करिडोर प्रकरणपछि अहिले लुम्बिनीकी एमाले सांसद रेखा शर्माको प्रकरणसम्म आइपुग्दा यी दुई पक्ष आमनेसामने भएका छन् । जसमा एमालेतर्फबाट भिडन्तमा नयाँ नयाँ पात्र देखिँदा रेखा शर्माले नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको बालेनको आरोपको खण्डनमा एमालेका विद्यार्थी नेता समिक वडाल अघिल्लो मोर्चामा छन् । उनीहरुबीचको वाक युद्ध अदालतको फैसला सार्वजनिकसम्मै पुग्दा बालेनले यसअघिको पोस्ट हटाएका छन् ।

जसलाई एमाले पक्षले जीतकै रुपमा व्याख्या गर्दै बालेन सच्चिएकोमा धन्यवाद दिएको छ भने साइबर युद्धसँगै घेराबन्दीलाई बढाएको छ । अर्थात सामाजिक सञ्जालबाट वा प्रत्यक्ष भिड्न नसकिने बाटोमा पुगेको एमालेले योजनाबद्ध रुपमा बालेनविरुद्ध घेराबन्दी गरिरहेको छ । जसको उदाहरण न्यूरोडको फुटपाथ विस्तारमै देखिँदानदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दूरीका विषयमा पनि यही रणनीति अवम्बलन गरेको छ ।

अर्थात विगतमा पनि सुकुम्बासी उचाल्ने एमालेले अहिले पनि उनीहरुसँगै जोडिएको मुद्दालाई बालेनलाई साइजमा ल्याउने रणनीतिका रुपमा प्रयोग गर्न खोजिरहेको छ । यही कारण एमालेको काठमाडौँ जिल्ला कमिटी नै महागरको यो निर्णयविरुद्ध लागि पर्दा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै नदीको दायाँबायाँ अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेश न्यायिक पुनरावलोकनमा जान भन्दै ध्यानाकर्षण–पत्र नै बुझाएकाछन् । जुन कार्यक्रममा महानगरकै उपप्रमुख सुनिता डंगोलसमेत पार्टीकै पक्षमा देखिँदा उनको अभिव्यक्तिसमेत पार्टीप्रेरित नै सुनिन थालेका छन् ।

यो मुद्दामा अहिले एमालेको साथमा कांग्रेसपनि उभिएको छ । कांग्रेस सांसद सन्तोष चालिसले यो विषयमा कांग्रेसपनि एमालेसंगै उभिनुपर्ने बताउँदा अहिले बालेन भर्सेस सत्तारुढ दलकै अवस्था बनेको हो । यसले उनीहरु सामाजिक सञ्जाल र महानगरको काममा सँगैसँगै रणनीतिक रुपमा भिड्ने अवस्थामा देखिँदाबालेन चाहेर भने एमालेसँग भिडन्तमा जोडिएका होइनन् । केपी शर्मा ओलीबाट तबला उपहार लिएर राम्रै सम्बन्ध भएको संकेत गरेका बालेन कहिले पेरिसडाँडामा फोहार फाल्दा त कहिले फुटपाथ विस्तारमा लाग्दा ओलीसँग जोडिन पुगेका हुन् । त्यही कुरामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौन सुनिँदा प्रतिक्रिया जनाइहाल्ने ओलीको बानीले यी दुईलाई भिडाएको थियो ।

जहाँ सडकको विषयमा भिड्दा आफ्नो पार्टीबाट भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई जोगाउनु ओलीको बाध्यता थियो भने बालश्रम शोषणका विषयमा आफ्नी प्रदेश सांसद जोगाउनुपर्ने छ । यद्यपि यो विषयमा उनी मौन बस्दा उनलाई तोकेर बालेनले स्टाटस लेखेपछि सांसद भएर जघन्य अपराध गर्नेको संरक्षणमा लाजै लजाउने गरि एमालेका नेता कार्यकर्ता लागि परेका छन् । जुन ओलीका अघि राम्रो देखिने उनीहरुको प्रतिस्पर्धाकै नतिजा भएको पक्का हुँदा जेलाई पनि आफू अनुकूल व्याख्या गर्ने ओलीको बानीले नै यसमा भूमिका खेलिरहेको छ ।

हुन त केन्द्रसरकारको समन्वय र सहकार्यमै स्थानीय तहले काम गर्ने हो । एक अर्कालाई लान्छना लगाएर कही नपुग्ने यो स्थितिमा बालेन जस्ता एक पात्रको पछि सिंगो पार्टीपंक्ति नै लाग्नुपर्ने एमालेको अवस्थाले राजनीतिक दलहरुको हालत प्रष्ट पारेको छ । त्यो भन्दा महत्वपूर्ण विषय त संघीयता कार्यान्वयको अवस्था कस्तो छ? भन्ने यसले प्रष्ट पार्दा उनको शैलीमा केही प्रश्न गर्न सक्ने ठाँउभएपनि बालेनले उठाएका विषयलाई बेवास्ता गर्न सकिने अवस्था छैन । जसलाई सुझावका रुपमा लिएर सुधार्नेभन्दा भिड्ने र उनलाई उत्तेजित पार्ने एमालेको बाटो सत्तारुढ र संसदकै दोस्रो ठूलो शक्तिलाई सुहाउने आचरण भने होइन ।