नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ ।
पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो । गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ ।
आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो ।
गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ ।


प्रतिक्रिया