Breaking

ममता प्रकरण : पार्क घेरेरै शवको खोजी, हत्या मुद्धा चलेन


अमेरिकामा आफ्नै पतीले हत्या गरेको भनिएको नर्स ममता काफ्ले प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रहरीले अझै शव भेट्न सकेको छैन भने नेपाली समुदायको दबाब जारी छ । यद्यपि अनुसन्धानको दायरा फराकिलो पार्दै लगेको प्रहरीले केहि नयाँ प्रमाणहरु भने सार्वजनिक गरेको छ ।

अमेरिकामा वेपत्ता नेपाली नर्स ममता काफ्लेको शव नभेटिदा यो विषय रहस्यमय बन्दै गएको छ । हत्या अभियोगमा उनका श्रीमान नरेश भट्ट पक्राउ परेपनि प्रहरीले प्रर्याप्त प्रमाणहरु फेला पारेको छैन । उनीहरुको घर खानतलासीको क्रममा रगतको टाटा भेटिएको तथा घिसारेको निशान भेटिएको प्रहरीको दाबी छ । जसमध्ये रगतको टाटा देखिने केहि फोटोहरु समेत अहिले सार्वजनिक गरिएको छ । जुन वाथरुमको भएको बताईएको छ ।

त्यस्तै उनले अर्को विवाह वारे ईन्टरनेटमा खोजेको,गाडि बेचेको र घर वेच्नेबारे सल्लाह गरेको प्रहरीको दाबी छ । ममता हराएकै दिनमा नरेशले तिनओटा चक्कु तथा सरसफाईको सामान किनेको प्रहरीको दाबी छ । त्यसको सिसिटिभी फुटेज नै भएको प्रहरीले दाबी गरेको भएपनि शव नभेटिएसम्म यहि प्रमाणले नै हत्यारा भनिहाल्न सकिने अवस्था छैन् । अर्थात प्रहरीले प्राप्त प्रमाणले ममता ज्यूदो नरहेको पक्का गरेपनि नरेश नै हत्यारा भएको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

शव खोज्न दवाव बढाउन नेपाली समुदायले मनासास प्रहरी कार्यालय अगाडी नै प्रदर्शन गर्दै आएकाछन् । नरेशलाई पक्राउ गरेको तर ममताको शव फेला नपारेकाले कानुनी र नैतिक दबवामा परेको प्रहरीले सिग्नल हिल पार्कमा गाडिएको संकेत मिलेको भन्दै खोजी गरेको छ ।

मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले शुक्रबार पार्कमा खोजी गरेको थियो । जुन समयमा समेत नेपाली समुदायले प्रदर्शनमार्फत दवाव कायम राखेका थिए भने पार्कमा भएको खोजीबाट के के प्राप्त भयो ? प्रहरीले जानकारी दिएको छैन् । यता नेपाली समुदायले भने प्रहरीको अनुसन्धानमाथि नै प्रश्न गर्न थालिसकेका छन् भने शब फेला नपन्जुरुन्जेल दवाव कायम राख्ने बताएका छन् । प्रहरीले भने घटनाको अनुसन्धानमा केन्द्रित बताउँदै संघीय पार्टनरहरु एफबीआई र सेक्रेट सर्भिसका साथमा लाउडन काउन्टी र फेयरफ्याक्स काउन्टी प्रहरीसँग पनि सहकार्य गरिरहेको बताएको छ ।

हुन त प्रहरीले पनि नरेशमाथि शव लुकाएको अभियोग मात्रै लगाएको छ भने नेपाली समुदायको दवाव अहिलेसम्मकै अद्भूत भएको टिप्पणी गरेको छ । त्यसैलाई टेकेर नरेशका वकिल पनि तीव्र जनआक्रोशले प्रयाप्त प्रमाणविना मुद्दा अगाडि बढाएको दलिल पेश गरेका छन् । उनका वकिल शालेव बेन अब्राहमले अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गरेका छन् । यसकारण सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण नरेशलाई पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष उनको तर्क छ ।

यता २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि नरेश भट्टका तर्फबाट दायर गरिएको मोशन अदालतले स्वीकार गरेछ भने यहिकारण अघि सारेर अक्टोबर ७ का लागि ग्रयाण्ड जुरी तोकिएको छ । यसले प्रहरीमाथि अनुसन्धान छिटो सक्न अझ दवाव बढेको छ । जो नरेशलाई धरौटिमा छोड्न नमानेपछि अदालतमाथि दवाव बढाउन चालिएको कदमका रुपमा समेत चर्चा गरिएको छ । यसरी हेर्दा नरेश पक्ष आफूलाई बलियो बनाईरहेको छ भने प्रहरी प्राप्त प्रमाणले हत्याको मुद्धा चलाउन नसक्ने तर वाँकि प्रमाण फेला पार्न नसक्ने दोहोरो चेपुवामा परेको देखिन्छ ।

पछिल्ला घटनाक्रमले ममता प्रकरण अझ पेचिलो बनेको पक्का गर्छ । त्यस्तै शव लुकाएको सम्बन्धमा लगाईएको छैठौं श्रेणीको अपराध अर्थात ‘फेलोनी सिक्स’ को अभियोग नै पनि कमजोर हुने खतरा यसले बढाएको छ । जसमा कारबाही नै भएपनि कम्तिमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । यो बीचमा ममताकी आमा र भाई अमेरिका पुगेका छन् । उनीहरुले ममताकी छोरीलाई समेत भेटेको बताईएको छ । अहिले छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ ।