काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका छन् । आज काठमाडौंमा क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन गर्दै उनले ‘नेपाल श्रीलंका र बंगलादेशजस्तै हुन सक्ने’ धम्कीबाट आफू नडराउने पनि बताए ।
‘श्रीलंका र बंगलादेशबाट सिक’ भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै उनले ‘आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने’ जवाफ दिए । नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध आवाज उठाउनेहरूले नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए । आधा शताब्दीभन्दा बढी समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूमाथि पशुपति जलहरीजस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको उनको भनाइ थियो ।
आफूलाई पदको कुनै लोभ नभएको उनले जिकिर गरे । सहमतिअनुसार आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनुअघि नै सहज रूपमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । उनले राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने भन्ने विषय सामाजिक अराजकता मात्र भएको टिप्पणी गरे । यसले समाजलाई बेथितितर्फ लैजाने उनले बताए । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरूको अधिकार हनन हुने गरी गरिने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनी रूपमा रोक्ने स्पष्ट पारे ।
प्रतिक्रिया