अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको आगामी राष्ट्रपतिको प्रतिस्पर्धामा छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा अनेक चुनावी फन्डाका कारण राष्ट्रपति चुनाव थप रोचक बनिरहेको छ ।
अमेरिका हाँक्ने होडबाजीसहित राष्ट्रपतिको चुनावमा होमिएका अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याई छ । लोकतान्त्रिक मुलुकमा चुनाव ताका एकअर्कामाथि दोषारोपण, गालीगलौज गरेर आफूलाई बलियो देखाउनु स्वभाविक हो । ट्रम्प र कमला पनि त्योभन्दा माथि उठ्न सकेका छैनन् । चुनावको मिति नजिकिँदै जाँदा चुनावी सभादेखि टेलिभिजन बसहसम्ममा कमला र ट्रम्प एक–अर्काविरुद्ध तुच्छ रुपमा नै प्रस्तुत भइरहेका छन् ।
चुनावको पूर्वसन्ध्यामा सार्वजनिक भइरहेका एकपछि अर्को फन्डाले चुनावी सरगर्मी थप बढेको छ । पहिलो टेलिभिजन अन्तर्वार्तापछि चर्चा र आलोचनाको सिकार बनेकी ह्यारिस पछिल्लो मत सर्वेक्षण अनुसार उनी ५० प्रतिशत मतसहित अगाडि देखिएकी छन् भने ट्रम्प ४८ प्रतिशतमा चित्त बुझाइ रहेका छन् । सन् २०२० को निर्वाचनमा हस्तक्षेप गर्न खोजेको विषयमा अदालतमा मुद्दा खेपिरहेका ट्रम्प पुराना दुई डेमोक्रेट राजनीतिज्ञलाई आफ्नो क्याम्पमा स्वागत गर्न पाएपछि हौसिएका छन् ।
पुराना डेमोक्रेट राजनीतिज्ञ तुलसी गाबार्ड र इन्डिपेन्डेन्ट उम्मेदवार जुनियर रोबर्ट केनेडी ट्रम्पको चुनावी प्रचारमा सहभागी भइरहेका छन् । मत सर्वेक्षणले दिन प्रतिदिन कमला ह्यारिसको पक्षमा माहौल बने पनि वरिष्ठ डेमोक्र्याट नेताहरु रिपब्लिक पार्टीका उम्मेदवार ट्रम्पको चुनावी अभियानमा सहभागी हुने निर्णयले कमलालाई धक्का लागेको छ । अर्को अमेरिकी खर्बपति व्यापारी एलन मस्कले कमलालाई टेलिभिजन अन्तर्वार्तापछि आप्रवासीहरुको सवाललाई लिएर कमलामाथि खनिएका छन् ।
सन् २०१७ मा कमलाले ट्वीटरमा गरेको एक पोस्टलाई एलन मस्कले अहिले सेयर गर्दै डेमोक्रेटहरुले आप्रवासीहरुलाई प्रलोभनमा पारी भोट बैंकको रुपमा प्रयोग गर्ने गरेको आरोप लगाएका छन् । त्यसबेला कमलाले कागजपत्र नहुँदैमा आप्रवासी व्यक्ति अपराधी नहुने आशय व्यक्त गरेकी थिइन् । आप्रवासीको विषयमा लचिलो धारणा राख्दै आएकी कमलाले ट्रम्पमाथि पुरातनवादी सोच रहेको भन्दै आलोचना गर्दै आएकी छन् । यद्यपि मत सर्वेक्षणमा ट्रम्पलाई मात खुवाइरहेकी कमला नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनाव जितेर अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्ने रणनीतिमा छिन् ।


प्रतिक्रिया