Breaking

ओली सत्ता ढाल्न उद्यत प्रचण्ड, युवा आक्रोशमा बंगलादेशी मसला


प्रतिपक्षमा पुगेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगठन सुदृढीकरण भन्दै देश दौडाहमा छन् । तर, पछिल्लो एक महिनाका उनका अभिव्यक्ति आफैँमा विरोधाभाषपूर्ण र उत्तेजक छन् । कतिपयले यसलाई सत्ता छाड्दाको छटपटीका रुपमा पनि हेरिरहेका छन् ।

सत्ता गुमाएपछि पार्टी निर्माणभन्दै देश घुमिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असंयमित बन्न थालेका छन् । सरकारको विरोध गर्ने नाममा ढंग नपु¥याइ अभिव्यक्ति दिँदा आलोचना चुलिएको छ । कतिपयले यसलाई उनको प्रतिपक्षमा रहँदाको छटपटीका रुपमासमेत हेर्न थालेका छन् । हुन त प्रचण्डका लागि यी गतिविधि खासै नौला होइनन् । किनभने शक्तिविहीन हुँदा कार्यकर्ता उचाल्ने उनको पुरानै परिपाटी हो ।

अहिले पनि उनी प्रत्येक कार्यक्रममा सरकारविरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिइरहन्छन् । यतिमात्र नभई सरकारबाट बाहिरिन नपाउँदै शेख हसिना र आफ्नो सरकारलाई अमेरिकाले फालेको आरोप लगाएका प्रचण्ड बंगलादशको उदाहरण दिँदै दुई तिहाइको सरकार पनि उखेलेर फाल्ने अभिव्यक्ति दिन थालेका छन् । अर्थात प्रतिपक्षमा पुगेपछि प्रचण्डका अभिव्यक्ति आफैँमा विरोधाभाषपूर्ण र असंयमी छन् ।

हुन त प्रचण्डका यी अभिव्यक्तिलाई खबरदारीका रुपमा मात्रै हेर्नु पर्ने पनि एक पक्षको राय छ । तर, बंगलादेश हुने अवस्था किन निम्तियो र किन बंगलादेश हुने चेतावनी प्रचण्डले दिइरहेका छन् त्यो महत्वपूर्ण छ । जनतामा आक्रोश छ, सत्य हो । तर पछिल्लो एक महिनामा मात्रै आक्रोश चुलीमा पुगेको अर्थमा प्रचण्ड प्रस्तुत भइरहेका छन् । यदि जनता विद्रोहकै अवस्थामा पुुगेको भए १८ महिनामा थपेको निराशाको भागेदार आफू पनि हुनुपर्ने पक्षलाई प्रचण्डले ध्यान दिइरहेका छैनन् । तर दुई तिहाइको सरकारले जनआक्रोशको ज्वारभाटा थेग्न नसकेको भने पुष्टि भइरहेको छ ।

गत सोमबार टुँडिखेलमा नेताहरुविरुद्ध सांकेतिक विरोध गरेकै भरमा युवाहरुलाई थुन्ने पञ्चायती शैली अपनाएको सरकार प्रचण्डका उत्तेजित अभिव्यक्तिमा मौन छ । नेता लखेटिए आफू पनि लखेटिन्छु भन्ने चेत नभएका प्रचण्ड र नेताले मनलाग्दी बोले पनि हुने र जनताले आक्रोश पोख्दा जेल हाल्ने सरकार दुबैका रवैया कदापि ठिक होइनन् । प्रचण्डको भ्रममा कांग्रेस र एमालेले प्रतिवाद गर्दै प्रचण्डले संयमता गुमाएको र भाग्नै पर्ने अवस्था आए प्रचण्ड पनि चैनले सुत्न नपाउनेतर्फ होस पु¥याउन भनेका छन् ।

तर प्रचण्डमा अहिले पनि जनयुद्धको धङधङी उत्रिसकेको छैन । उनले बंगलादेश बन्ने र नेता भाग्ने अवस्था आए आफू भने जोगिने आत्मविश्वासमा अर्को भ्रम छ । किनभने बंगलादेशमा हसिना भाग्नु पर्ने कारण कोटाविरोधी आन्दोलन थियो । अहिले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा लिँदा त्यही आरक्षणको आगो झोस्ने र जनता उचाल्ने योजना प्रचण्डको देखिन्छ ।

सत्ता गुमेपछि सडक संघर्ष गर्ने र बिना कारण आन्दोलनको ध्वाँस दिने पुरानै परिपाटी हो । किनभने तत्कालीन प्रधानसेनापति रुकमांगत कटुवाल प्रकरणका कारण आफ्नो प्रधानमन्त्री पद गुमेपछि तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारलाई घेराबन्दी गर्न सडक संघर्ष चलाएका थिए । सिंहदरबार घेराउ गर्नेसम्मको रणनीति त्यसबेला बनाएका थिए । त्यही रणनीति अहिले फेरि सत्ता गुम्दा प्रचण्ड अपनाइरहेका छन् ।

प्रचण्ड स्वयंले दुई पटक प्रधानमन्त्री बन्दा उल्लेख्य काम नगरेको स्वीकारी सकेका छन् । तेस्रो पटक पनि सरकार बनाउनेमै समय बिताएको स्पष्ट भइसक्दा अहिले प्रतिपक्षमा पुग्दा ‘म नहुँदा सबै बिग्रियो’ भन्ने भाष्य निर्माण गरिरहेका छन् । प्रमुख प्रतिपक्षी भएका कारण सरकारको खबरदारी गर्नु माओवादीको दायित्व र कर्तव्य पनि हो । तर, संयमता अपनाउनुपर्ने नेतृत्व नै जनता उचाल्नतर्फ लाग्दा यीनकै कारण बंगलादेशको अवस्था नआउला भन्न सकिँदैन । र ९ वर्षसम्म सरकारमा हालीमुहाली गरेका प्रचण्ड पनि आँधीबेहरीबाट अछुतो रहने छैनन् ।