राजनीति

उत्तेजित बन्दै प्रचण्ड, जनता भड्काएपछि ओली आतंकित, गगन थापाको काउन्टर (भिडियोसहित)


काठमाडौँ— जनताको विषय र मुद्दा उठान गर्ने थलो संसद अहिले सांसदहरुबीच आरोपप्रत्यारोपगर्ने अखडा बनेको छ । मंगलबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता पक्षमाथि विभिन्न प्रश्नहरु उठाएपछि संसद थप आरोपप्रत्यारोपको श्रृंखला बढेको छ । प्रचण्डले उठाएका विषयको जवाफमा सत्ता पक्ष विशेष गरी एमाले सांसदहरु बढी आक्रोशित बन्दा बुधबारको बैठक केही समय अवरोध नै भयो । सभामुखलाई संसद सञ्चालनगर्न हम्मेहम्मे नै प¥यो ।जनता बाढीपहिरो, सवारी दुर्घट्नाको आहातमा परेका बेला सांसदहरु भने दलीय आरोपप्रत्यारोपमा व्यस्त छन् ।

सदनमा प्रतिपक्षी दलको हैसियतले गत मंगलबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब४० मिनेट मनको भडास पोखे ।जनयुद्धताका कै झल्को दिने गरी भाषण गरेका उनले संसदको रोस्ट्रममा उभिएर केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विषवमन गरे । सत्ता खुस्किएको आक्रोशमा उनी यतिसम्म गर्जिए कि बंगलादेशको हवला दिँदै दुई तिहाइको दम्भमा नपर्न सरकारलाई चेतावनी नै दिए ।
आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्डले एमाले र प्रधानमन्त्री ओलीलाई गाली गर्नेमै खर्चिए । समग्रमा उनले सरकारको आलोचना र विभिन्न आरोप लगाउन भ्याए ।उनकै अभिव्यक्तिका कारण अहिले सदनमा सत्ता र प्रतिपक्षबीच भिडन्त चलिरहेको छ । प्रचण्डले उठाएका सवालहरुकै कारण बुधबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ एमाले सांसदहरु आक्रोशित बन्दा सभामुखलाई संदन सञ्चालन गर्नै हम्मेहम्मे प¥यो । जसका कारण केही समय सदन असामान्य बन्न पुग्यो ।१० वर्षे माओवादी सशस्त्र जनयुद्धलाई एमाले सांसदले ‘हिंसा’ भनेपछि बैठकमा हंगामा मच्चियो । एमाले सांसद योगेश भट्टराईले दिएको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माओवादी सांसदहरुले माग गरे ।


जनताको मुद्दा र एजेण्डामा छलफल हुने संसदमा नेताहरु एक आपसमा भिड्नु र गालीगलौजमा उत्रिँदा सदनकै गरिमामाथि प्रश्न उठ्ने अवस्था बनेको छ । संयमता गुमाएरै सांसदहरुबाट तल्लोस्तरको हर्कत प्रस्तुत हुँदा सदनमा दिनहुँ हंगामा मच्चिने गरेको छ । अध्यक्ष प्रचण्डभने संसदमा आगो सल्काएर पार्टीको सुदूरपश्चिमस्तरीय कार्यक्रममा सहभागी हुन पुगेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिले नेपाल, बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने तर्क गरे । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिमा सांसद थापाले काउन्टर दिएका हुन् ।


यता सत्तारुढ दलका सांसदले उत्तेजित अभिव्यक्ति नदिन चेतावनी दिँदै गर्दा माओवादी अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशको धनगढीमा फेरि नेपालमा बंगलादेश र श्रीलंकाको अवस्था आउन सक्ने उत्तेजित अभिव्यक्ति दिएका छन् । प्रचण्ड शान्त बन्नेभन्दा पनि झनै उत्तेजित अभिव्यक्ति दिँदै हिँडेका छन् । आफ्नो अभिव्यक्तिमा संयमित हुनु पर्नेमा उनले सुदूरपश्चिम पुगेर त्यही कुरालाई दोहो¥याए । माओवादीले शिक्षामा प्रधानमन्त्रीबाट हस्तक्षेप भएको आरोप लगाएपछि त्यसको प्रतिवादमा शिक्षामन्त्री विद्या भट्टराई नै उत्रिनु प¥यो ।शिक्षामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् ।


प्रमुख प्रतिपक्षी माओवादीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको, प्रतिपक्षी कमजोर बनेको र सत्तारुढ दल कांग्रेसकै महामन्त्रीद्वय सरकारको प्रतिपक्षी कित्तामा उभिएको लगायतका टिप्पणी भइरहँदा केही दिनयतादेखि माओवादी सदनमा खरो रुपमा प्रस्तुत भइरहेको छ । तर, प्रतिपक्षीको तर्फबाट आलोचनात्मक भूमिका निर्वाह गर्नु पर्ने राष्ट्रिय एजेन्डा नहुँदा सत्ता पक्षले बोल्ने शब्द शब्दमा माओवादीले नियमापत्ति जनाउने र प्रतिवादमा उत्रिनेभन्दा माथि उठ्न सकेको छैन । दलीय स्वार्थ केन्द्रित विचार र राजनीतिक प्रतिष्ठालाई प्राथमिकतामा राख्दा जनजीविकाका सवाल भने ओझेलमा पर्दै गएका छन् । जनताको आवाज बुलन्द हुने थलो संसद नेताको आक्रोश र कुण्ठा पोख्ने थाले बन्नु विडम्बना नै मान्नु पर्छ ।।