राजनीति

माओवादीका नाममा बन्दुकको धन्दा गर्ने योगेश, ओली फकाउन अनेक तुजुक, हिंसा शब्दले उफ्रियो माओवादी (भिडियोसहित)


काठमाडौँ— माओवादी सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेपछि एमाले सचिव योगेश भट्टराई आलोचनाको सिकार बनेका छन् । पटक–पटक दोहोरो चरित्र देखाउने भट्टराईले गैरजिम्मेवार हर्कत प्रस्तुत गरेको आरोप मात्रै लागेको छैन कि उनीमाथि हतियार तस्करी गरेकोसमेत गम्भीर आरोप लागेको छ ।
प्रतिनिधिसभामा विद्युत बक्यौताजस्तो गम्भीर विषयमा विचार राखिरहेका एमाले सचिव एवं सांसद योगेश भट्टराई असंयमी र उत्तेजक अभिव्यक्तिले आलोचनाको चुलीमा पुगेका छन् । माओवादीको दश वर्षे सशस्त्र जनयुद्धलाई हिंसा भनेपछि बुधबार संसदमै २१ मिनेटभन्दा बढी विवाद चलेको थियो । जसका कारण चौतर्फी आलोचनाको घेरामा योगेश परेका छन् । एकातर्फ योगेश आफैँले माओवादीको भेषमा हतियार तस्करी गरेको आरोप पनि खेपिरहेका छन् । अर्कोतर्फ जनयुद्धलाई हिंसा देख्नेले आफ्नै अध्यक्षमाथि धर्मप्रसाद ढकालको टाउको काटेको आरोपलाई कसरी हेर्नुु भन्दै प्रश्नको बाढी आइरहेको छ । योगेशले संसदमा माओवादीको हिंसात्मक द्वन्द्वकै कारण देश १० वर्ष पछि धकेलिएको र विद्युतको क्षेत्रमा माओवादीले आतंक मच्चाउँदा लोडसेडिङको मारले देश पछाडि परेको दलील पेस गरेका थिए ।

योसँगै सामाजिक सञ्जाल र सदनमै पनि उनको उभिव्यक्तिको तीव्र आलोचना भइरहेको छ । माओवादीले योभन्दा पनि माथि उठेर गम्भीर आरोप लगाउँदै योगेशलाई सांसद लेखनाथ दाहालले नम्बरी ठगको संज्ञा दिएका छन् । जुन स्टाटसलाई माओवादी उपमहासचिव जनार्दन शर्माले पनि सेयर गरेका छन् । संसदमा पनि माओवादीले योगेशलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको गम्भीर आरोप लगाएको छ । जनयुद्धको नाममा चन्दासमेत असुलेको आरोप माओवादीले योगेशमाथि लगाएको छ ।

तर माओवादीमाथि पनि प्रश्न के उठ्छ भने यदि योगेश हतियार तस्करीमा संलग्न थिए भने सत्ता हातमा हुँदा के हेरेर बसेको ? भन्ने प्रश्न उठ्छ । उनले तस्करी गरेका थिए भने छानबिन गरी हातहतियार खरखजानाको मुद्दा माओवादीको सरकारले किन चलाउन सकेन ? यस्ता प्रश्नको घेराबन्दीमा माओवादी आफैँ परेको छ । तर, माओवादीको यो आरोपलाई बल पु¥याउने गरी केही समयअघि एक टेलिभिजन कार्यक्रममा एकीकृत समाजवादीका नेता प्रेम आलेले समेत अभिव्यक्ति दिएका छन् । उनले योगेश तस्करीमा संलग्न पात्र भएको दाबी नै गरेका थिए । माओवादी जनयुद्ध चर्किएको र नेताहरु भूमिगत भएका बेला माओवादीकै नाममा हतियारको दुई नम्बरी गर्ने गरेको र त्यसैको बलमा काठमाडौंमा सम्पत्ति जोडेकोसम्म आरोप लगाएका थिए ।

आलेको भनाइलाई पुष्टि गर्ने गरी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि जनयुद्धका समयमा योगेश माओवादीको भेषमा आफूलाई धम्क्याउन आएको तथ्य खोलेका थिए । त्यस समयमा योगेशका ससुरालीतर्फका दरबारिया आफन्तविरुद्धको मुद्दा आफूले हेरिरहेको र मिलापत्र गराउन माओवादीको भेषमा आफ्नै कार्यालयमा आएका योगेशले दबाब दिएकोसम्म अधिवक्ता न्यौपानेले खुलाएका थिए ।

तर, यहाँ ताजुब लाग्दो विषय के हो भने संविधानले जनयुद्धलाई सशस्त्र युद्ध भनेको छ । योगेशले आफ्नो अभिव्यक्तिलाई एमालेको भाषामा भनेका छन् । तर उनको भाषा समय समयमा फरक फरक देखिएको छ । आफ्नै अध्यक्ष केपी शर्मा ओलीलाई भूतप्रेत देख्ने योगेश अहिले पार्टीमा ठाउँ पाउन उनै ओलीलाई राजनेता देखिरहेका छन् । यिनै योगेश हुन्, जसले कुनै समय ओलीको लिंग पहिचान हुन नसकेकोसम्मका आपत्तिजनक अभिव्यक्ति दिएका थिए । अहिले उनै ओलीका गलत काममा पनि काँध हालेर हिँडिरहेका छन् । यीनै योगेश हुन्, जसले प्रचण्डसँग काँध थापेर सत्ताको स्वाद लिइरहँदा माओवादी जनयुद्धलाई परिवर्तनको संवाहक देख्थे र प्रचण्डलाई क्षमतावान् नेताको रुपमा वर्णन गर्थे । त्यतिबेला जनयुद्धले कमभन्दा कम क्षति गरेको देख्थे । अहिले उर्जा क्षेत्रको विकास रोक्ने प्रमुख कारण नै जनयुद्धलाई देखाइरहेका छन् । यीनका यस्तै दोहोरो चरित्र धेरै ठाउँमा देखिन्छ ।

केही समय अघिसम्म अहिलेका प्रधानमन्त्री ओली पनि योगेशकै बाटोमा थिए । गत साउन २३ मा संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा राजनीतिक सहमति जुुटेपछि ओलीले फेसबुकमार्फत माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसात्मक द्वन्द्व’ भनेका थिए । केही दिनअघि मात्रै माओवादी अध्यक्ष प्रचण्डले केही नेताहरुलाई जनयुद्ध शब्द प्रयोग गर्दा जातै जालाजस्तो हुने भन्दै दुखेसो गरेपछि त्यहीँ साँझ ओलीले अभिव्यक्तिलाई सच्याउँदै माओवादी विद्रोहलाई सशस्त्र द्वन्द्वको संज्ञा दिएका थिए । तर शान्ति प्रक्रिया टुुंगिएकै समय सत्तारुढ सांसदले नै अनावश्यक बखेडा झिक्नु र संसदमै गैरजिम्मेवार हर्कत देखाउनु सुखद् संकेत होइन । यसले विद्युत बक्यौताको गम्भीर बहसलाई गिजोल्ने काम त भएको छ नै । योगेशकै राजनीतिक परिपक्वतामाथि पनि प्रश्न उठाएको छ ।