अन्तर्राष्ट्रिय

चीन र फिलिपिन्स भिडे, समुद्रमा सेनाको युद्ध अभ्यास, शोल टापु कसको ? (भिडियोसहित)


काठमाडौँ— दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुमा दुवै देशले आआफ्ना भएको भन्दै दाबी गर्दै आएका छन् ।
दक्षिण चीन सागरमा चीन र फिलिपिन्स एक पटक फेरि आमने–सामने भएका छन् । दुवै देशले दक्षिण चीन सागरमा एउटा टापुलाई आफ्नो दाबी गर्दै आएका छन् । यसैको कारण गएको केही वर्षयता चीन र फिलिपिन्स कयौँ पटक एक अर्कासँग भिडिसकेका छन् । तर गएको हप्ता चिनियाँ र फिलिपिनी पानीजहाज सबिना शोल नजिक आपसमा ठोक्किएपछि स्थिति थप बिग्रिएको छ ।

यसबारे फिलिपिन्स र चीन दुवैले एक अर्कालाई आफ्नो पानीजहाजलाई ठक्कर दिएको आरोप लगाइरहेका छन् । शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले इस्कोडा शोल भन्दै दाबी गर्दै आएका छन् । यो फिलिपिन्सको पश्चिम तटबाट करिब १३८ किमी दूरीमा पर्दछ छ । चीनभन्दा यो टापु १ हजार १६६ किमी पर छ । यो क्षेत्र तेल र ग्यासका लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि शोलमा आफ्नो दाबी गर्दै आइरहेका हुन् । फिलिपिन्सको पानीजहाज जानीजानी ठोक्किन आएको चीनको तटरक्षक बलले दाबी गरेको छ । फिलिपिन्सले भने चिनियाँ जहाजहरूले आक्रामक युद्धाभ्यास गरिरहेको भनेको छ । युरोपियन युनियन (ईयू), अमेरिका, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतले यो सम्पूर्ण मामिलामा चीनको आलोचना गरेका छन् । पछिल्ला महिनामा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भएका छन् । फिलिपिन्सले चीनले पानी तोप र लेजर प्रयोग गरेको आरोप लगाएको छ । साथै चिनियाँ पक्षले आफ्नो जहाजमा चढेर सामान जफत गरेकाले झडप भएको दाबी गरेको छ ।

फिलिपिन्सले हालै आरोप लगाएको छ– ‘चिनियाँ तटरक्षक चक्कु र तरबार लिएर हाम्रो सैन्य जहाजमा चढे र हाम्रा सैनिकलाई धम्की दिए ।’ फिलिपिन्सका रक्षा प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई चीनविरुद्ध उभिन आह्वान गर्दै आफू अझ शक्तिशाली प्रतिद्वन्द्वीसँग लडिरहेको भनेका छन् । फिलिपिन्सले उक्त घटनामा कसैको मृत्यु नभए पनि आफ्ना धेरै सैनिक घाइते भएको बताएको छ । यस्तै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले चीनका कारण कुनै सैनिकको मृत्यु भएमा यसलाई युद्ध कार्यका रूपमा हेरिने चेतावनी दिएका छन् । अर्कातर्फ चीन र फिलिपिन्सबीचको विवादले दक्षिण चीन सागरमा ठूलो द्वन्द्व निम्तिन सक्ने भन्दै पर्यवेक्षकहरूले चिन्ता प्रकट गरेका छन् । यसलाई समयमै समाधान गर्न नसकेको खण्डमा क्षेत्रीय युद्ध चर्किन सक्ने खतरा बढेर गएको छ ।